धनगढी १६ भाद्र/कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा रहेको सि.एस.अस्पतालले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ ।
रसुवामा आएको बाढीका कारण भएको दुःखद घटनाप्रति दुःख व्यक्त गर्दै अस्पतालले विपद्का कारण पीडित बनेका परिवारलाई केही राहत पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको अस्पतालका प्रबन्ध निर्देशक विष्णुप्रसाद सापकोटाले जानकारी दिए ।
उनका अनुसार प्राकृतिक विपत्तिका कारण प्रभावित नागरिकको पीडामा साथ दिनु सामाजिक दायित्व भएकाले अस्पतालको वार्षिकोत्सवको अवसरमा राहत कोषमा सहयोग गरिएको हो । अस्पतालले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सहयोगका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
अस्पतालले विपद्का बेला पीडित तथा प्रभावित नागरिकलाई सहयोग गर्न सबैलाई आ-आफ्नो क्षेत्रबाट योगदान गर्नसमेत आग्रह गरेको छ । विशेषज्ञ सेवासहित २०८० भाद्र १४ गते सुखडमा सञ्चालनमा आएको सि.एस. अस्पतालले हाल अत्याधुनिक प्रयोगशाला, डिजिटल एक्स–रे, डिजिटल रेडियोग्राफी, अप्रेसन, ड्रेसिङ, ओपिडी तथा फार्मेसीलगायतका सेवा प्रदान गर्दै आएको छ ।