धनगढी, १४ भदौ / नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाह र भारतको उत्तराखण्डका पूर्वमुख्यमन्त्री तथा भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय उपाध्यक्ष तीरथ सिंह रावतबीच नयाँदिल्लीमा भेटवार्ता भएको छ ।
नयाँदिल्लीमा उपचाररत निवर्तमान मुख्यमन्त्री शाह र रावतबीच भएको भेटमा हालै रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा त्यसबाट भएको मानवीय र भौतिक क्षतिबारे विशेष छलफल भएको थियो।
भेटका क्रममा रावतले बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरे । उनले विपद्को यस दुःखद् घडीमा नेपाललाई मानवीय सहयोग तथा उद्धार र राहतका लागि भारत सरकार तयार रहेको बताएका थिए ।
रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएको छ । बाढीपछि उद्धार, बेपत्ता व्यक्तिको खोजी तथा प्रभावितका लागि राहत र पुनःस्थापनाको काम भइरहेको छ ।
निवर्तमान मुख्यमन्त्री शाह यही भदौ १० गते उपचारका लागि स्थलमार्ग हुँदै भारत प्रस्थान गरेका थिए। दिल्लीमा रहँदा भएको उक्त भेटवार्तालाई नेपाल–भारतबीचको आपसी सद्भाव, मानवीय संवेदना तथा विपद्का समयमा सहकार्यको भावनासँग जोडेर हेरिएको छ ।