धनगढी १२ भाद्र/सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदेश सरकारका तर्फबाट २ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । साथै प्रदेश सरकारका मन्त्रीहरूले एक–एक महिनाको तलब उपलब्ध गराउने निर्णय समेत गरेको छ ।
भाद्र १२ गते शुक्रबार बसेको सुदूरपश्चिम प्रदेश सरकारको मन्त्री परिषद्बाट उक्त निर्णय गरेको हो । बैठकले जनधनको क्षति भएको भन्दै प्रदेश सरकारले दुःख व्यक्त गर्दै नागरिकको उद्धार, राहत, स्वास्थ्य उपचार तथा पुनःस्थापनाका लागि सबै पक्षलाई सक्रिय रूपमा जुट्न अपिल गरेको सुदूरपश्चिम प्रदेश सरकारका प्रबक्ता प्रकाश रावलले जानकारी दिए ।
सुदूरपश्चिम प्रदेश सरकारका तर्फबाट पनि बाढी प्रभावित क्षेत्रमा सम्भावित महामारी, संक्रमण तथा अन्य स्वास्थ्यसम्बन्धी जटिलताको जोखिमलाई ध्यानमा राख्दै स्वास्थ्यकर्मी तथा चिकित्सकको विशेष टोली परिचालन गर्न आवश्यक तयारी भइरहेको प्रदेश सरकारले जनाएको छ ।
प्रभावित क्षेत्रमा खटिएका स्वास्थ्यकर्मी तथा चिकित्सकसँग समन्वय र सहकार्य गर्दै सुदूरपश्चिम प्रदेशको तर्फबाट समेत आवश्यक औषधि तथा स्वास्थ्य सामग्रीसहित स्वास्थ्यकर्मीको टोली खटाउने तायरी भएको प्रदेश सरकारका प्रबक्ता रावलले जानकार दिए ।