धनगढी, ११ भाद्र/रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति शिखर नगरपालिकाले दुःख व्यक्त गर्दै बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
शिखर नगरपालिकाको कार्यपालिकाको कार्यालयले बिहीबार जारी गरेको अपिलमा बाढीका कारण ज्यान गुमाएका सम्पूर्ण नागरिकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ।
नगरपालिकाले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका लागि नेपाल सरकार तथा सम्बन्धित निकायले गरिरहेको प्रयासप्रति ऐक्यबद्धता जनाउँदै स्थानीय सरकारका तर्फबाट २ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको जनाएको छ। उक्त रकम नेपाल सरकारको राहत कोषमा जम्मा हुने गरी आवश्यक प्रक्रिया मिलाइएको नगरप्रमुख दीर्घ बलयारले जानकारी दिए ।
नगरप्रमुख दीर्घबहादुर बलायरद्वारा हस्ताक्षरित अपिलमा विपद्को कठिन समयमा सानो सहयोगले पनि प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।
नगरपालिकाले विपद्बाट प्रभावित सम्पूर्ण नागरिकप्रति गहिरो दुःख, सहानुभूति र ऐक्यबद्धता प्रकट गर्दै पीडित परिवार तथा समुदायसँग साथमा रहने प्रतिबद्धता जनाएको छ।