धनगढी, ९ भदौ / सुदूरपश्चिमको कला, संस्कृति, भाषा, प्रतिभा र सामाजिक चेतनालाई हास्य–व्यंग्यका माध्यमबाट प्रस्तुत गर्न आयोजना हुन लागेको ‘सुदूरपश्चिम गाईजात्रा सिजन–२’ मा बेहडाबाबा मन्दिर व्यवस्थापन समिति पनि प्रवर्धकका रूपमा जोडिएको छ। धार्मिक तथा सांस्कृतिक क्षेत्रको संरक्षण र प्रवर्धनसँगै मौलिक कला–संस्कृतिलाई नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले समितिले कार्यक्रमलाई साथ दिएको हो।
यही भदौ १७ गते धनगढीस्थित एस.टी.एस. सिनेमा हलमा आयोजना हुने कार्यक्रममा सुदूरपश्चिमको मौलिक कला, संस्कृति, देउडा, गीत–संगीत तथा हास्य–व्यंग्यसँगै समसामयिक सामाजिक विषयवस्तु प्रस्तुत गरिने आयोजकले जनाएको छ।
बेहडाबाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खेमबहादुर चन्दले धार्मिक आस्था र मौलिक संस्कृतिको संरक्षण एकअर्काका परिपूरक रहेको बताए। उनले नयाँ पुस्तालाई आफ्नो धर्म, संस्कृति, परम्परा र मौलिक पहिचानसँग जोड्न सांस्कृतिक कार्यक्रमको महत्वपूर्ण भूमिका हुने बताए।
“बेहडाबाबा जस्ता धार्मिक तथा ऐतिहासिक स्थल हाम्रो पहिचानका आधार हुन्। धर्म, संस्कृति र परम्पराको संरक्षण गर्दै नयाँ पुस्तालाई आफ्ना मौलिक मूल्य–मान्यतासँग जोड्नु आजको आवश्यकता हो। गाईजात्रा जस्तो कार्यक्रमले मनोरञ्जनसँगै सामाजिक चेतना र संस्कृतिको संरक्षणमा योगदान पुर्याउने भएकाले हामीले प्रवर्धकका रूपमा साथ दिएका हौँ,” अध्यक्ष चन्दले भने।
समितिका आर्थिक संयोजक शुभेष पाठकले पनि धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणसँगै यस्ता कार्यक्रमलाई प्रोत्साहन गर्नुपर्ने बताए। “धार्मिक स्थल र मौलिक संस्कृतिको संरक्षण केवल मन्दिर व्यवस्थापन समितिको मात्र जिम्मेवारी होइन, समाजका सबै पक्षको साझा दायित्व हो। कला, संस्कृति र सामाजिक चेतना बोकेका कार्यक्रमलाई सहयोग गर्दा हाम्रो मौलिक पहिचान अझ बलियो बन्ने विश्वास छ,” उनले भने।
कार्यक्रमका मूल संयोजक मूल सरस्वती खड्का भट्टले ‘सुदूरपश्चिम गाईजात्रा’ लाई केवल मनोरञ्जनमा सीमित नराखी यहाँको कला, संस्कृति, भाषा, सामाजिक अवस्था र विकृतिविरुद्धको आवाजलाई हास्य–व्यंग्यका माध्यमबाट प्रस्तुत गर्ने उद्देश्य रहेको बताए। उनले स्थानीय कलाकार तथा प्रतिभालाई राष्ट्रिय स्तरमा चिनाउने र सुदूरपश्चिमको मौलिक सांस्कृतिक पहिचानलाई थप उजागर गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिए।
आयोजकका अनुसार कार्यक्रममा वरिष्ठ हास्य–व्यंग्य कलाकार मनोज गजुरेलसहित सुदूरपश्चिमका चर्चित कलाकारहरूको प्रस्तुति रहनेछ। व्यंग्य नाटक, कविता, गीत–संगीत, देउडा तथा मौलिक लोक–सांस्कृतिक प्रस्तुतिका साथै लागुऔषध दुर्व्यसन, भ्रष्टाचार, साइबर अपराध, महिला तथा घरेलु हिंसा, बालअधिकार, युवा पलायन र सामाजिक विभेदजस्ता विषयलाई हास्य–व्यंग्यका माध्यमबाट प्रस्तुत गरिनेछ।
‘सुदूरपश्चिम गाईजात्रा सिजन–२’ भदौ १७ गते अर्थात ८ दिनपछि धनगढीको एस टि एस सिनेमा हलमा आयोजना हुँदैछ।