धनगढी , ८ भदौ / सुदूरपश्चिमको मौलिक कला, संस्कृति, भाषा र हास्य–व्यंग्यलाई संरक्षण तथा प्रवद्र्धन गर्दै सामाजिक चेतनाको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना हुन लागेको ‘सुदूरपश्चिम गाईजात्रा सिजन–२’मा चैतन्य पाठशाला धनगढी प्रायोजकका रूपमा जोडिएको छ। शिक्षा र संस्कृतिलाई एउटै मञ्चमा जोड्ने उद्देश्यसहित पाठशालाले कार्यक्रमलाई साथ दिएको हो।
यही भदौ १७ गते धनगढीस्थित एस.टी.एस. सिनेमा हलमा आयोजना हुने कार्यक्रममा सुदूरपश्चिमका मौलिक कला, देउडा, गीत–संगीत, हास्य–व्यंग्य तथा सामाजिक विषयवस्तुलाई विशेष प्राथमिकताका साथ प्रस्तुत गरिने आयोजकले जनाएको छ।
चैतन्य पाठशालाका प्रधानाध्यापक प्रेमनिधि ओझाले शिक्षा र संस्कृति एकअर्काका परिपूरक भएकाले नयाँ पुस्तालाई आफ्नो मौलिक पहिचानसँग जोड्न सांस्कृतिक कार्यक्रमको भूमिका महत्वपूर्ण हुने बताए।
“विद्यार्थीलाई किताबी ज्ञानसँगै आफ्नो भाषा, संस्कृति, परम्परा र समाज बुझ्ने अवसर पनि दिनुपर्छ। गाईजात्राजस्तो मौलिक सांस्कृतिक पर्वले मनोरञ्जनसँगै सामाजिक चेतना र संस्कृतिको पुस्तान्तरणमा योगदान पुर्याउँछ। त्यसैले नयाँ पुस्तालाई आफ्नो संस्कृति र सिर्जनशीलतासँग जोड्ने उद्देश्यले हामीले यो कार्यक्रमलाई प्रायोजन गरेका हौँ,” ओझाले भने।
कार्यक्रमका आर्थिक संयोजक शुभेष पाठकले यसपटक गाईजात्रालाई अझ व्यवस्थित, सिर्जनात्मक र सन्देशमूलक बनाउने तयारी भइरहेको बताए। उनका अनुसार परम्परागत गाईजात्राको मौलिकता कायम राख्दै वर्तमान समाजका विषयलाई हास्य–व्यंग्यको माध्यमबाट प्रस्तुत गरिनेछ।
“गाईजात्राको मूल विशेषता नै समाजका विकृति र विसंगतिमाथि व्यंग्य गर्दै सत्य कुरा हास्यको माध्यमबाट प्रस्तुत गर्नु हो। यही मौलिकतालाई कायम राख्दै आजको पुस्ताले भोगिरहेका सामाजिक विषयलाई कार्यक्रममा समेट्दैछौँ। दर्शकले भरपूर मनोरञ्जनसँगै समाजबारे सोच्ने र सकारात्मक सन्देश लिएर फर्कने वातावरण बनाउने हाम्रो प्रयास हो,” पाठकले भने।
कार्यक्रमकी मूल संयोजक सरस्वती खड्का भट्टले सुदूरपश्चिमको मौलिक कला, भाषा, संस्कृति र प्रतिभालाई एउटै मञ्चबाट प्रस्तुत गर्ने गरी कार्यक्रमको तयारी भइरहेको बताइन्।
“हाम्रो गाईजात्रा केवल मनोरञ्जनको कार्यक्रम होइन, समाजलाई आफ्नै शैलीमा प्रश्न गर्ने र विकृति–विसंगतिलाई उजागर गर्ने सांस्कृतिक अभियान पनि हो। सुदूरपश्चिमको मौलिकता जोगाउँदै नयाँ पुस्तालाई गाईजात्राको महत्व बुझाउने र स्थानीय प्रतिभालाई मञ्च दिने गरी कार्यक्रम तयार गरिरहेका छौँ,” भट्टले भनिन्।
उनका अनुसार कार्यक्रममा वरिष्ठ हास्य–व्यंग्य कलाकार तथा अभिनेतासहित सुदूरपश्चिमका चर्चित कलाकारहरूको प्रस्तुति रहनेछ। व्यंग्य नाटक, कविता, गीत–संगीत, देउडा तथा लोक–सांस्कृतिक प्रस्तुतिका साथै लागुऔषध दुव्र्यसन, भ्रष्टाचार, साइबर अपराध, महिला तथा घरेलु हिंसा, बालअधिकार, युवा पलायन र सामाजिक विभेदलगायत समसामयिक विषयलाई हास्य–व्यंग्यका माध्यमबाट प्रस्तुत गरिनेछ।
आयोजक बैजनाथ सञ्चार प्रालिका अनुसार अघिल्लो संस्करणबाट प्राप्त अनुभवलाई आधार बनाउँदै यसपटक कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउने तयारी भइरहेको छ। कलाकारको प्रस्तुति, मञ्च व्यवस्थापन, दर्शकको सहजता, प्रचार–प्रसार तथा सुरक्षालाई प्राथमिकतामा राखिएको छ।
‘सुदूरपश्चिम गाईजात्रा सिजन–२’ अब नौ दिनपछि भदौ १७ गते धनगढीमा आयोजना हुँदैछ।