धनगढी, ७ भदौ / राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंहको जन्मजयन्तीका अवसरमा आज अनावरण गर्ने तयारी गरिएको उहाँको शालिकमा गएराति तोडफोड गरिएको छ । धनगढी उपमहानगरपालिका-७ मा निर्माण गरिएको जयपृथ्वीबहादुर सिंहको शालिक आज जन्मजयन्तीका अवसरमा अनावरण गर्ने तयारी गरिएको थियो । तर, अनावरण हुनुअघि नै अज्ञात समूहले गएराति शालिक तोडफोड गरेको हो ।
घटनाबारे जानकारी दिँदै अधिवक्ता भरत सिंहले शालिकमा तोडफोड भएको बताए । उनले आजै शालिक अनावरण गर्ने तयारी गरिएको भए पनि गएराति तोडफोड भएको बताए । शालिक कसले र किन तोडफोड गरेको हो भन्ने खुलेको छैन,’ उनले भने, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’ शालिक तोडफोड गर्ने समूहको पहिचान हुन सकेको छैन । घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ ।
यसैबीच, आज जयपृथ्वीबहादुर सिंहको जन्मजयन्ती देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । उहाँको जन्मस्थल बझाङमा पनि जन्मजयन्तीका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएका छन् ।
जयपृथ्वीबहादुर सिंहको जन्म वि.सं.१९३४ भदौ ७ गते बझाङमा भएको थियो । शिक्षा, मानवतावाद र समाज सुधारका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका सिंहलाई नेपाल सरकारले राष्ट्रिय विभूति घोषणा गरेको छ ।
उहाँले नेपाली शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै ‘अक्षराङ्क शिक्षा’ पुस्तक लेख्नुभएको थियो । उक्त पुस्तकलाई नेपाली भाषाको प्रारम्भिक पाठ्यपुस्तकमध्ये महत्वपूर्ण मानिन्छ ।
जन्मजयन्तीका अवसरमा देशका विभिन्न स्थानमा उहाँको योगदानको स्मरण भइरहेका बेला धनगढी-७ मा भने अनावरणको तयारी गरिएको शालिक तोडफोड भएको हो ।