धनगढी, ७ भदौ / सुदूरपश्चिमका विभिन्न जिल्लामा आज साउन शुक्ल एकादशी अर्थात् पुत्रदा एकादशीलाई गौरा एकादशीका रूपमा मनाइँदैछ। गौरा उपासना गर्ने महिलाहरूले आज व्रत बसेर साँझ पूजाआजा गर्ने परम्परा रहेको छ। गौरा उपासना गर्ने व्रतालु महिलाले गौरा एकादशीको व्रत बस्नुपर्ने धार्मिक तथा सांस्कृतिक परम्परा रहँदै आएको सुर्नया गाउँपालिका–६ की हरिना अवस्थीले बताइन्। उनका अनुसार पहिलोपटक गौरा व्रत लिने महिलाले अनिवार्य रूपमा गौरा एकादशीको व्रत उपासना गर्नुपर्ने मान्यता छ।
गौरा पर्वमा दुबधागो धारण गर्ने महिलाहरूले गौरा एकादशीबाटै गौरा पर्वको उपासना सुरु भएको मान्ने गरेका छन्। गौरा एकादशीका दिन व्रत बसेर साँझ पूजाआजा गर्ने र त्यसपछि गौरा पर्वको तयारी अघि बढाउने चलन रहेको छ।
स्थानीय संस्कृतिका जानकार आचार्य घनश्याम लेखकका अनुसार गौरा एकादशी र जनैपूर्णिमाअघि दुबधागो धारण गर्ने परम्परा छैन। त्यसैले मुख्य गौरा पर्व भने भाद्र शुक्ल वा कृष्ण पक्षमा मात्रै मनाउने चलन रहेको छ। ‘गौराको व्रत लिनुअघि गौरा एकादशीको व्रत लिने परम्परा रहिआएको छ,’ उनले भने।
पण्डित शिवराज भट्टका अनुसार साउन शुक्ल एकादशी अर्थात् पुत्रदा एकादशीलाई नै गौरा एकादशीका रूपमा व्रत बस्ने परम्परा छ। गौरा एकादशी र जनैपूर्णिमापछि दुबधागो धारण गरी मुख्य गौरा पर्व मनाउने चलन रहेको उनले बताए।
सन्तान प्राप्ति, सन्तान सुख, पारिवारिक शान्ति तथा समृद्धिको कामनासहित गौरा पर्व मनाइने भएकाले पुत्रदा एकादशीलाई गौरा एकादशीका रूपमा मान्ने गरिएको आचार्य लेखकले बताए।
पुत्रदा एकादशीको महत्वबारे विभिन्न पुराणमा देवकी र वासुदेवलाई लोमश ऋषिले सुनाएको प्रसंग उल्लेख गरिएको पाइन्छ। यस दिन व्रत तथा उपासना गरेमा सन्तान प्राप्ति हुने धार्मिक जनविश्वास रहँदै आएको छ। गौरा पर्वमा पनि महिलाहरूले सन्तान सुख तथा पारिवारिक कल्याणको कामना गर्दै व्रत बस्ने भएकाले पुत्रदा एकादशीलाई गौरा एकादशीका रूपमा मान्ने गरिएको लेखकको भनाइ छ।
सुदूरपश्चिममा मुख्य गौरा पर्व भने हरेक वर्ष भाद्र शुक्ल वा कृष्ण पक्षको पञ्चमी तिथिबाट मनाउने गरिन्छ। भाद्र शुक्ल पक्षमा परेको गौरालाई ‘उजेली गौरा’ र कृष्ण पक्षमा परेको गौरालाई ‘अँधेरी गौरा’ भन्ने गरिन्छ।
यस वर्ष गौरा पर्व भाद्र कृष्ण पक्षमा परेको छ। त्यसैले यस वर्षको मुख्य गौरा पर्व ‘अँधेरी गौरा’का रूपमा मनाइनेछ। मुख्य गौरा पर्व भदौ १६ गतेदेखि सुरु हुने जनाइएको छ।