धनगढी, ३ भाद्र/नेपाल- भारत सीमा क्षेत्रमा भारतको तिकुनियानजिकै रहेको रत्तनगर क्षेत्रबाट ब्राउन सुगरसहित दुई नेपाली पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कैलालीको लम्कीचुहा नगरपालिका निवासी ३० वर्षीय मोतीराम बजगाईँ र २७ वर्षीय खडक विष्ट रहेका छन्। उनीहरूलाई तिकुनिया भारतीय प्रहरी र सशस्त्र सीमा बल (एसएसबी) को संयुक्त टोलीले पक्राउ गरेको हो। उनीले प्रयोग गरिएको दिल्ली राज्यमा दर्ता भएको एनफील्ड बुलेट (DL4SDM6203) समेत नियन्त्रण गरिएको छ । खोजतलासका क्रममा उनीहरुबाट ९.५५० ग्राम ब्राउन सुगर बरामद गरिएको छ ।
स्टेसन हाउस अफिसर वनीश कुमारका अनुसार पक्राउ परेका दुवै जनाविरुद्ध तिकुनिया प्रहरी चौकीमा एनडीपीएस ऐनको दफा ८/२१ अन्तर्गत मुद्दा दर्ता गरिएको छ। उनीहरूलाई अदालतमा पेस गरी जेल पठाउने कानुनी प्रक्रिया अघि बढाइएको भारतीय प्रहरीले जनाएको छ।