धनगढी, २ भदौ / सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले बुधबार प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेका छन्। सोमबार मुख्यमन्त्री निवासमा भएको सत्ता साझेदार नेताहरूबीचको छलफलपछि विश्वासको मत लिने सहमति बनेको हो।
विश्वासको मतसम्बन्धी औपचारिक निर्णयका लागि नेकपा संसदीय दलको बैठक मंगलबार दिउँसो २ बजे बोलाइएको छ। बैठकले मुख्यमन्त्री भट्टले प्रदेशसभामा विश्वासको मत लिने विषयमा आवश्यक निर्णय गर्ने बताइएको छ।
शुक्रबार मुख्यमन्त्री नियुक्त भएका भट्टले विश्वासको मत प्राप्त गरेपछि सरकारलाई पूर्णता दिने तयारी गरेका छन्। सत्ता गठबन्धनको प्रमुख घटक नेकपा एमालेबाट यसअघि नै तीन मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भइसकेका छन्। अब नेकपाबाट थप तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्ने तयारी छ।
विश्वासको मतपछि मन्त्रालयको जिम्मेवारी तोक्ने तथा बाँकी मन्त्री र राज्यमन्त्री नियुक्त गर्ने प्रक्रिया अघि बढाइने जनाइएको छ। यस विषयमा मुख्यमन्त्री भट्ट, नेकपा संसदीय दलका नेता तथा प्रदेश इन्चार्ज भानुभक्त जोशीबीच संयुक्त छलफलसमेत भएको थियो।
यसअघि प्रदेश संयोजक हरि चौधरी, नेतृ रञ्जिता श्रेष्ठ, इन्चार्ज जोशी र मुख्यमन्त्री भट्टबीच पनि सरकारको स्थायित्व र विश्वासको मतबारे छलफल भएको थियो।
सुदूरपश्चिम प्रदेश करिब एक महिनादेखि आंशिक बजेटको अवस्थामा रहेकाले सरकार विस्तारसँगै बजेट ल्याउने प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ। नयाँ सरकारले पूर्णता पाएपछि प्रदेशको बजेटसम्बन्धी अन्योलसमेत अन्त्य हुने विश्वास गरिएको छ।