धनगढी, १ भदौ / भन्सार विभागले भन्सार जाँचपास प्रक्रियामा अनधिकृत व्यक्तिको संलग्नता रोक्न देशभरका भन्सार कार्यालयलाई निर्देशन दिएको छ। विभागले साउन १९ गते सबै भन्सार कार्यालयलाई परिपत्र गर्दै इजाजतपत्रप्राप्त भन्सार जाँचपास प्रतिनिधिबाहेक अन्य कुनै पनि अनधिकृत व्यक्तिलाई मालवस्तु जाँचपास कार्यमा संलग्न नगराउन निर्देशन दिएको हो।
विभागले प्रचलित कानुनअनुसार इजाजतप्राप्त भन्सार एजेन्ट तथा अधिकारप्राप्त प्रतिनिधिबाट मात्र मालवस्तुको जाँचपास गराउन भनेको छ। भन्सार जाँचपासमा अनधिकृत व्यक्तिको पहुँच बढ्दा राजस्व प्रशासनमा विकृति तथा राजस्व चुहावटको जोखिम बढेको भन्दै विभागले यस्तो व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको हो।
भन्सार एजेन्ट महासंघले विभागको निर्देशनको स्वागत गरेको छ। महासंघका सचिव प्रवीण जोशीले निर्देशन कार्यान्वयन गर्न महासंघ तयार रहेको बताउँदै यसले भन्सारभित्र भइरहेका विकृति नियन्त्रणमा सहयोग पुग्ने बताए।
उनका अनुसार भन्सार एजेन्टका नाममा अनधिकृत व्यक्तिहरूको प्रवेश र पहुँचले भन्सारभित्र विकृति बढाउनुका साथै जिम्मेवारी बोधसमेत कमजोर बनाएको थियो। अब लाइसेन्सधारी एजेन्ट स्वयं जाँचपास प्रक्रियामा संलग्न हुँदा अनधिकृत व्यक्तिका कारण भइरहेका विकृति नियन्त्रण हुने अपेक्षा गरिएको उनले बताए।
त्यस्तै, भन्सार एजेन्ट महासंघले देशभरका भन्सार नाकामा अनधिकृत व्यक्तिको प्रवेश रोक्दै कानुनी रूपमा इजाजतप्राप्त एजेन्टलाई मात्र काम गर्ने वातावरण बनाउन आफूहरू सक्रिय रहने जनाएको छ।
विभागको निर्देशनले भन्सार जाँचपास प्रणालीमा पारदर्शिता र जवाफदेहिता बढाउने अपेक्षा गरिएको छ। साथै, कानुनले तोकेको अधिकार र जिम्मेवारीअनुसार मात्र भन्सार जाँचपास कार्य सञ्चालन हुने भएकाले राजस्व चुहावट नियन्त्रणमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ।