धनगढी, २९ साउन / ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ का लागि सहयोग गर्ने स्थानीय तह, निजी क्षेत्र तथा शिक्षण संस्थाको संख्या दिनप्रतिदिन थपिँदै गएको छ। सुदूरपश्चिमको मौलिक कला, संस्कृति, भाषा तथा परम्पराको संरक्षणसँगै हास्य–व्यङ्ग्यमार्फत सामाजिक चेतना फैलाउने उद्देश्यले आयोजना हुन लागेको कार्यक्रममा विभिन्न स्थानीय तह, निजी क्षेत्र तथा शिक्षण संस्थाले साथ र सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।
बैजनाथ सञ्चार प्रालिको आयोजनामा आगामी भदौ १७ गते धनगढीस्थित एस।टी।एस। सिनेमा हलमा आयोजना हुने कार्यक्रममा धनगढी उपमहानगरपालिका, बेलौरी नगरपालिका, भजनी नगरपालिका, जोशीपुर गाउँपालिका, घोडाघोडी नगरपालिका, बर्दगोरिया गाउँपालिका, लालझाडी गाउँपालिका, पुनर्वास नगरपालिका, कैलारी गाउँपालिका, गोल्डेन फ्युचर एकेडेमी, स्वर्णिम शिक्षा सदन , कालभैरव ज्वेलर्स प्रालि, समैजि किचन सप, ज्योति आयल स्टोर र रिलायन्स फाइनान्स लिमिटेड लगायतका संस्थाले सहयोग गरेका छन्।
कार्यक्रमलाई मनोरञ्जनमा मात्र सीमित नराखी सामाजिक विकृति, विसंगति तथा समसामयिक विषयलाई हास्य–व्यङ्ग्यका माध्यमबाट प्रस्तुत गर्ने तयारी गरिएको आयोजकले जनाएको छ। लागुऔषध दुर्व्यसन, भ्रष्टाचार, साइबर अपराध, महिला तथा घरेलु हिंसा, बालअधिकार, युवा पलायन र सामाजिक विभेदजस्ता विषयलाई कार्यक्रममार्फत उठान गरिने आयोजकले जनाएको छ ।
‘कार्यक्रम जनचेतनामूलक भएकाले सहयोग गर्ने निकाय थपिँदैछन्’
कार्यक्रमका आर्थिक संयोजक शुभेष पाठकले बदलिँदो समयअनुसार हास्य–व्यङ्ग्यमार्फत प्रस्तुत गरिने कार्यक्रम जनचेतनामूलक भएकाले यसको महत्व बुझेर आर्थिक तथा संस्थागत सहयोग गर्ने निकायहरू थपिँदै गएको बताए।
उनका अनुसार कार्यक्रम मनोरञ्जनसँगै समाजमा चासोका विषयलाई सरल र प्रभावकारी रूपमा प्रस्तुत गर्ने उद्देश्यमा केन्द्रित छ। “कार्यक्रम जनचेतनामूलक छ। बदलिँदो समयअनुसार हास्य–व्यङ्ग्यमार्फत प्रस्तुत गरिने भएकाले सबैको चासोको विषय बनेको छ। त्यसैले आर्थिक सहयोग गर्ने निकायहरू पनि तत्पर देखिनुभएको छ,” उनले भने।
पाठकले कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन आगामी दिनमा पनि सहयोग गर्ने विभिन्न संघसंस्था तथा निजी क्षेत्रका निकायहरू जोडिने विश्वास व्यक्त गरे।
‘गाईजात्रा सबैको साझा कार्यक्रम’
कार्यक्रमकी मूल संयोजक सरस्वती खड्का भट्टले आफूहरू सहयोगका लागि विभिन्न संस्था तथा निकायमा पुग्दा अधिकांशले सकारात्मक रूपमा सहयोग गरिरहेको बताइन्।
“हामी जुन संस्थामा सहयोगका लागि जान्छौँ, त्यहाँबाट रित्तो हात फर्किनुपरेको छैन। सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गरिरहनुभएको छ,” उनले भनिन्।
उनले गाईजात्रा केवल आयोजकको कार्यक्रम नभई सबैको साझा कार्यक्रमका रूपमा विकास हुँदै गएको बताइन्। दर्शकबाट समेत गाईजात्रा बेलाबखत आयोजना गर्नुपर्ने र यसलाई निरन्तरता दिनुपर्ने सुझाव तथा प्रतिक्रिया प्राप्त भइरहेको उनको भनाइ छ।
“गाईजात्रा आयोजकमा मात्रै सीमित नभई सबैको साझा कार्यक्रम हो भन्ने प्रतिक्रिया दर्शकबाट पाइरहेका छौँ। बेलाबखत यस्ता कार्यक्रम आयोजना गरिरहनुपर्छ भन्ने सुझाव पनि आइरहेको छ,” भट्टले भनिन्।
थप सहयोगी निकाय जोडिने अपेक्षा
आयोजकले कार्यक्रमको तयारी तीव्र रूपमा अघि बढिरहेको जनाउँदै आगामी दिनमा थप स्थानीय तह, संघसंस्था तथा निजी क्षेत्रका निकायहरू पनि सहकार्यका लागि जोडिने अपेक्षा गरेको छ। कार्यक्रमलाई सुदूरपश्चिमको मौलिक कला, संस्कृति र स्थानीय प्रतिभाको प्रवर्द्धनसँगै सामाजिक सरोकारका विषयमा सकारात्मक बहस सिर्जना गर्ने साझा मञ्चका रूपमा अघि बढाउने तयारी गरिएको छ।
कार्यक्रममा व्यङ्ग्य नाटक, कविता, गीत–संगीत, देउडा तथा मौलिक लोक–सांस्कृतिक प्रस्तुति रहनेछ। कार्यक्रमको विशेष आकर्षणका रूपमा राष्ट्रिय हास्य कलाकार मनोज गजुरेलको विशेष हास्य–व्यङ्ग्य प्रस्तुति रहने आयोजकले जनाएको छ।