धनगढी, २७ साउन / सुदूरपश्चिमका युवाको मनोबल बढाउन तथा उनीहरूलाई सिर्जनात्मक र सामाजिक गतिविधिमा अघि बढाउन सञ्चार क्षेत्रमार्फत योगदान पुर्याएको भन्दै पत्रकार तथा सम्पादक खेमराज उपाध्याय सम्मानित भएका छन्।
सुदूरपश्चिम प्रदेश युवा परिषद्को आयोजनामा बुधबार धनगढीमा आयोजित अन्तर्राष्ट्रिय युवा दिवस विशेष कार्यक्रममा उपाध्यायलाई सम्मान गरिएको हो।
उपाध्याय पश्चिम टुडे राष्ट्रिय दैनिक, पश्चिम टुडे अनलाइन र रेडियो पश्चिम टुडेका सम्पादक हुन्। सुदूरपश्चिमका युवाका सवाल, उनीहरूको क्षमता, सम्भावना र सामाजिक योगदानलाई सञ्चारमाध्यममार्फत प्राथमिकताका साथ उठाउँदै आएका उनलाई सम्मान गरिएको प्रदेश युवा परिषद्ले जनाएको छ।
युवाका समस्या र सम्भावनालाई सार्वजनिक बहसमा ल्याउन तथा युवालाई प्रोत्साहित गर्ने वातावरण निर्माणमा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहने भन्दै परिषद्ले उपाध्यायलाई सम्मान गरेको हो। सम्मानपछि उपाध्यायले युवाको आवाजलाई सञ्चारमाध्यमले अझ प्रभावकारी रूपमा उठाउनुपर्ने बताए। युवामा रहेको क्षमता र सिर्जनशीलतालाई समाजको सकारात्मक परिवर्तनसँग जोड्न सञ्चार क्षेत्रले निरन्तर भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो।