धनगढी, २५ साउन / सुदूरपश्चिमको मौलिक कला, संस्कृति तथा गाईजात्रा परम्पराको संरक्षणसँगै हास्य–व्यंग्यमार्फत सामाजिक सचेतना फैलाउने उद्देश्यले आयोजना हुन लागेको ‘सुदूरपश्चिम गाईजात्रा सिजन–२’ मा कञ्चनपुरको लालझाडी गाउँपालिकाको पनि सहयोग रहने भएको छ।
बैजनाथ सञ्चार प्रालिको आयोजनामा आगामी भदौ १७ गते धनगढीस्थित एस.टी.एस. सिनेमा हलमा कार्यक्रम आयोजना हुने आयोजकले जनाएको छ। कार्यक्रममा वरिष्ठ हास्य–व्यंग्य कलाकार तथा अभिनेतासहित सुदूरपश्चिमका चर्चित कलाकारहरूको प्रस्तुति रहने बताइएको छ।
पहिलो संस्करणबाट प्राप्त उत्साहजनक प्रतिक्रियापछि यस वर्ष कार्यक्रमलाई थप व्यवस्थित, मनोरञ्जनात्मक तथा सामाजिक सन्देशमूलक बनाउने तयारी गरिएको आयोजकले जनाएको हो।
लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले गाईजात्रा केवल मनोरञ्जनको पर्व नभई समाजमा देखिएका विकृति, विसंगति र गलत प्रवृत्तिमाथि व्यंग्य गर्दै सकारात्मक सन्देश प्रवाह गर्ने महत्वपूर्ण सांस्कृतिक माध्यम भएको बताए।
उनले सुदूरपश्चिमको मौलिक कला, भाषा, संस्कृति र परम्पराको संरक्षण गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्दै स्थानीय कलाकारलाई प्रोत्साहन र नयाँ पुस्तालाई आफ्नो मौलिक पहिचानसँग जोड्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए।
अध्यक्ष रानाले स्थानीय तहले विकास निर्माणसँगै कला, संस्कृति र सामाजिक चेतनाका क्षेत्रमा पनि लगानी गर्नुपर्ने धारणा राख्दै सुदूरपश्चिमको मौलिक संस्कृति राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले आयोजना हुने कार्यक्रमलाई गाउँपालिकाको तर्फबाट सहयोग गरिएको बताए।
कार्यक्रमका आर्थिक संयोजक शुभेष पाठकले यसपटकको कार्यक्रमलाई अघिल्लो संस्करणभन्दा अझ प्रभावकारी र व्यवस्थित बनाउने तयारी भइरहेको बताए।
पाठकले मनोरञ्जनलाई मात्र केन्द्रमा नराखी समाजमा रहेका समसामयिक विषयलाई कलाकारको सिर्जनात्मक प्रस्तुतिमार्फत दर्शकमाझ पुर्याउने गरी कार्यक्रमको विषयवस्तु तयार पारिएको जानकारी दिए। उनले सुदूरपश्चिमका कलाकार र मौलिक संस्कृतिलाई एउटै मञ्चमा जोड्ने प्रयास गरिएको बताए।
कार्यक्रमकी मुख्य संयोजक सरस्वती कुमारी खड्का भट्टले सुदूरपश्चिमका कलाकारलाई सम्मानजनक मञ्च प्रदान गर्दै प्रदेशको मौलिक भाषा, कला र संस्कृतिलाई राष्ट्रियस्तरसम्म चिनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको बताइन्।
कार्यक्रममा व्यंग्य नाटक, कविता, गीत–संगीत, देउडा तथा मौलिक लोक–सांस्कृतिक प्रस्तुतिका साथै लागुऔषध दुर्व्यसन, भ्रष्टाचार, साइबर अपराध, महिला तथा घरेलु हिंसा, बालअधिकार, युवा पलायन र सामाजिक विभेद जस्ता समसामयिक विषयलाई हास्य–व्यंग्यमार्फत प्रस्तुत गरिने आयोजकले जनाएको छ।
लालझाडी गाउँपालिकाको सहयोगमा आयोजना हुन लागेको ‘सुदूरपश्चिम गाईजात्रा सिजन–२’ मनोरञ्जनसँगै सामाजिक सन्देश प्रवाह गर्ने, स्थानीय कलाकारलाई प्रोत्साहन गर्ने तथा सुदूरपश्चिमको मौलिक गाईजात्रा परम्परालाई नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यमा केन्द्रित रहने आयोजकको भनाइ छ।