धनगढी , २५ साउन / सुदूरपश्चिमको मौलिक कला, संस्कृति र परम्परालाई संरक्षण गर्दै हास्य–व्यंग्यमार्फत सामाजिक विकृति र विसंगतिविरुद्ध सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना हुन लागेको ‘सुदूरपश्चिम गाईजात्रा सिजन–२’ मा पुनर्वास नगरपालिकाको सहयोग रहने भएको छ।
बैजनाथ सञ्चार प्रालिको आयोजनामा आगामी भदौ १७ गते धनगढीस्थित एस.टी.एस. सिनेमा हलमा कार्यक्रम आयोजना हुँदैछ। कार्यक्रममा सुदूरपश्चिमका चर्चित कलाकारसँगै वरिष्ठ हास्य–व्यंग्य कलाकार तथा अभिनेताहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ।
पहिलो संस्करणबाट दर्शकको उत्साहजनक प्रतिक्रिया पाएपछि यसपटक कार्यक्रमलाई थप आकर्षक, व्यवस्थित र समसामयिक विषयवस्तुमा केन्द्रित गर्ने तयारी गरिएको छ।
पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले कला र संस्कृतिको संरक्षणसँगै समाजका वास्तविक समस्यामाथि सिर्जनात्मक ढंगले आवाज उठाउने कार्यक्रम आवश्यक रहेको बताए। उनले स्थानीय प्रतिभालाई अवसर दिन र सुदूरपश्चिमको मौलिक पहिचानलाई फराकिलो बनाउन यस्ता कार्यक्रम उपयोगी हुने धारणा राखे।
“हाम्रो कला र संस्कृति हाम्रो पहिचान हो। यसलाई जोगाउँदै नयाँ पुस्तासम्म पुर्याउन हुने रचनात्मक प्रयासमा स्थानीय तहको साथ रहन्छ,” नगर प्रमुख शर्माले भने।
कार्यक्रमका आर्थिक संयोजक शुभेष पाठकले यसपटक गाईजात्रालाई मनोरञ्जनको सीमाभन्दा बाहिर लैजाँदै सामाजिक सरोकारका विषयलाई प्राथमिकताका साथ प्रस्तुत गर्न लागिएको बताए।
उनले गत वर्षको अनुभवलाई आधार बनाएर यसपटक कलाकारको प्रस्तुति, व्यवस्थापन र कार्यक्रमको विषयवस्तुलाई थप प्रभावकारी बनाइएको जानकारी दिए।
कार्यक्रमकी मुख्य संयोजक सरस्वती कुमारी खड्का भट्टले सुदूरपश्चिमका कलाकारलाई एउटै मञ्चमा ल्याएर स्थानीय कला, भाषा र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको बताइन्।
कार्यक्रममा व्यंग्य नाटक, कविता, गीत–संगीत, देउडा तथा मौलिक लोक–सांस्कृतिक प्रस्तुतिसँगै लागुऔषध दुर्व्यसन, भ्रष्टाचार, साइबर अपराध, महिला तथा घरेलु हिंसा, बालअधिकार, युवा पलायन र सामाजिक विभेद जस्ता विषयलाई हास्य–व्यंग्यमार्फत प्रस्तुत गरिने आयोजकले जनाएको छ।
पुनर्वास नगरपालिकाको सहयोगमा आयोजना हुन लागेको ‘सुदूरपश्चिम गाईजात्रा सिजन–२’ मनोरञ्जनसँगै सामाजिक चेतना अभिवृद्धि गर्ने, स्थानीय कलाकारलाई प्रोत्साहन गर्ने र सुदूरपश्चिमको मौलिक गाईजात्रा परम्परालाई नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यमा केन्द्रित रहने आयोजकको भनाइ छ।