धनगढी, २५ साउन / देशभर एलपी ग्याँसको अभाव देखिएसँगै कैलालीमा पनि त्यसको प्रभाव परेको छ । धनगढीका केही ग्याँस डिलरमा भरिएका सिलिण्डर पाउन मुस्किल भए पनि केही डिलरमा भने पर्याप्त मौज्दात रहेको पाइएको छ । नेपाल आयल निगमले ग्याँसको आपूर्ति विगतको तुलनामा बढेको दाबी गरिरहेको छ । तर बजारमा माग अस्वाभाविक रूपमा बढेपछि उपभोक्ताले ग्याँसका लागि डिलर धाउनुपर्ने अवस्था देखिएको छ ।
ग्याँस अभावबारे गुनासो बढेपछि कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीको नेतृत्वमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय कैलाली, नेपाल आयल निगम र नेपाल प्रहरीसहितको टोलीले सोमबार धनगढी बजारका विभिन्न ग्याँस डिलर तथा बिक्री केन्द्रमा अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा केही डिलरमा भरिएका सिलिण्डर भेटिए पनि अधिकांश बिक्री केन्द्रमा खाली सिलिण्डर मात्रै भेटिएका थिए । टोलीले ग्याँसको आपूर्ति, मौज्दात र बिक्री वितरणको अवस्थाबारे बिक्रेतासँग जानकारी लिएको थियो ।
माग बढेपछि डिलरमा चाप
ग्याँस आपूर्तिकर्ता जीवन ऐडीका अनुसार उद्योगबाट विगतकै अनुपातमा ग्याँस आइरहेको छ । तर पछिल्लो समय ग्राहकको संख्या उल्लेख्य रूपमा बढेपछि डिलरमा चाप परेको हो । उनका अनुसार धनगढीका स्थानीय उपभोक्तासँगै मनेहरादेखि धुर्जन्नासम्मका विभिन्न क्षेत्रबाट ग्याँस खरिद गर्न आउनेको संख्या बढेको छ । ग्राहकको संख्या दोब्बरजस्तै भएपछि आपूर्ति नियमित हुँदाहुँदै पनि सबैलाई तत्काल ग्याँस उपलब्ध गराउन कठिन भएको उनले बताए ।
ऐडीका अनुसार केही उपभोक्ताले अभाव हुने डरले आवश्यकताभन्दा बढी सिलिण्डर घरमै भण्डारण गर्ने गरेका छन् । कतिपयले चार–पाँच वटासम्म सिलिण्डर राख्दा एउटा मात्रै सिलिण्डर प्रयोग गर्ने विद्यार्थी, डेरावाल तथा सामान्य परिवारका उपभोक्ता समस्यामा परेको उनको भनाइ छ । “उद्योगबाट विगतकै अनुपातमा ग्याँस आइरहेको छ । तर ग्राहकको संख्या धेरै बढेको छ । केहीले चार-पाँच वटासम्म सिलिण्डर भण्डारण गर्दा एउटा सिलिण्डर मात्रै राख्ने उपभोक्ता समस्यामा परेका छन्,” उनले भने ।
अर्का ग्याँस आपूर्तिकर्ता धुर्वे ओझाका अनुसार कैलालीबाट खरिद गरिएका ग्याँस सिलिण्डर काठमाडौंलगायत अन्य स्थानमा पठाउने क्रमसमेत बढेको छ ।
उनका अनुसार कतिपय व्यक्तिले कैलालीबाट ग्याँस खरिद गरी अन्यत्र पठाउने गरेका कारण स्थानीय बजारको माग थप बढेको हो । आफूले नियमित रूपमा ग्याँस बिक्री गरिरहेको बताउँदै ओझाले आवश्यकताभन्दा बढी सिलिण्डर भण्डारण गर्न खोज्ने ग्राहकलाई भने बिक्री नगर्ने गरेको बताए ।
“म नियमित रूपमा ग्याँस बिक्री गरिरहेको छु । तर अभाव भयो भनेर भण्डारण गर्न ग्याँस लिन आउनेलाई बिक्री गर्दिनँ,” उनले भने ।
सुदूरपश्चिममा २० प्रतिशत बढी ग्याँस आपूर्ति
बजारमा ग्याँसको अभाव देखिए पनि नेपाल आयल निगमले आपूर्तिमा समस्या नरहेको जनाएको छ । नेपाल आयल निगम सुदूरपश्चिम प्रादेशिक कार्यालयका अनुसार गत वर्षको तुलनामा यस वर्ष करिब २० प्रतिशत बढी ग्याँस आपूर्ति भएको छ । सुदूरपश्चिममा मासिक करिब एक लाख सिलिण्डर ग्याँस बिक्री हुने गरेकोमा यस वर्ष निर्धारित समयभन्दा पाँच दिन अगावै एक लाख २० हजार सिलिण्डर बिक्री भइसकेको निगमले जनाएको छ ।
निगमका अनुसार थप ५० हजार सिलिण्डर ग्याँस आउने क्रममा छ । भारतबाट ग्याँसको आयातसमेत सहज रहेकाले तत्काल आपूर्ति संकट नहुने निगमको दाबी छ ।
नेपाल आयल निगम सुदूरपश्चिम प्रादेशिक कार्यालय प्रमुख मनोहर डि।सी।ले आपूर्ति नियमित रहेको भन्दै उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्याँस खरिद गरेर भण्डारण नगर्न आग्रह गरे ।
“भारतबाट सहजै ग्याँस आयात भइरहेको छ । आपूर्तिमा कुनै समस्या छैन । उपभोक्ताले बढी ग्याँस लगेर भण्डारण नगर्नुहोस्, ढुक्क भएर बस्दा हुन्छ,” उनले भने ।
अनुगमनमा कृत्रिम अभाव भेटिएन
ग्याँसको कृत्रिम अभाव सिर्जना गरिएको छ कि छैन भन्ने विषयमा गरिएको अनुगमनमा त्यस्तो ठोस प्रमाण फेला नपरेको जिल्ला अनुगमन समितिले जनाएको छ । अनुगमनका क्रममा केही डिलरमा भरिएका सिलिण्डर भेटिए पनि अधिकांश बिक्री केन्द्रमा खाली सिलिण्डर मात्रै रहेको पाइएको थियो । यसले उद्योगबाट ग्याँस आए पनि बढेको मागका कारण तत्काल बिक्री गर्न समस्या भइरहेको देखाएको समितिको भनाइ छ ।
सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले ग्याँसको वास्तविक अवस्था बुझ्न धनगढीका विभिन्न बिक्री केन्द्रमा दिनभर अनुगमन गरिएको बताए ।
“कतै समस्या छ कि भनेर हामीले दिनभर व्यापक अनुगमन गरेका थियौँ । तर त्यस्तो समस्या भेटिएन । अब उपभोक्ता नै सचेत बन्नुपर्ने देखियो । आवश्यकताभन्दा बढी ग्याँस भण्डारण नगरे मात्रै यो समस्या समाधान हुन्छ,” खत्रीले भने ।
‘अभावको डर’ले झन् बढाउँदै अभाव
कैलालीमा देखिएको ग्याँस अभावको अवस्था हेर्दा आपूर्ति पूर्ण रूपमा रोकिएको देखिँदैन । बरु नियमित तथा बढ्दो आपूर्तिका बीच माग अत्यधिक बढ्नु र केही उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिण्डर भण्डारण गर्नु मुख्य कारणका रूपमा देखिएको छ ।
अभावको हल्ला फैलिएपछि भविष्यमा ग्याँस नपाइने डरले उपभोक्ताले थप सिलिण्डर खरिद गर्ने प्रवृत्तिले बजारमा उपलब्ध सिलिण्डरको संख्या घटाउँछ । त्यसले नियमित रूपमा एउटा सिलिण्डर प्रयोग गर्ने उपभोक्तालाई प्रत्यक्ष असर पार्ने व्यवसायीहरूको भनाइ छ ।
विशेषगरी विद्यार्थी, डेरामा बस्ने तथा न्यून आय भएका परिवारले एकपटकमा एउटा मात्रै सिलिण्डर खरिद गर्ने गरेका छन् । तर केही परिवारले तीनदेखि पाँच वटासम्म सिलिण्डर भण्डारण गर्दा बजारमा तत्काल बिक्रीका लागि उपलब्ध सिलिण्डरको संख्या घट्ने गरेको व्यवसायीहरू बताउँछन् ।
उपभोक्ताले आवश्यकताअनुसार मात्रै ग्याँस खरिद गर्ने, बिक्रेताले समानुपातिक रूपमा वितरण गर्ने र सरकारी निकायले नियमित अनुगमन तथा आपूर्ति व्यवस्थापनलाई प्रभावकारी बनाउने हो भने बजारमा देखिएको चाप कम गर्न सकिने देखिन्छ ।