धनगढी २२ साउन / सुदूरपश्चिमको मौलिक कला, संस्कृति तथा गाईजात्रा परम्पराको संरक्षणसँगै हास्य–व्यंग्यमार्फत सामाजिक सचेतना फैलाउने उद्देश्यले आयोजना हुन लागेको ‘सुदूरपश्चिम गाईजात्रा सिजन–२’ मा घोडाघोडी नगरपालिकाको साथ र सहयोग रहने भएको छ। बैजनाथ सञ्चार प्रालिको आयोजनामा आगामी भदौ १७ गते धनगढीस्थित एस।टी।एस। सिनेमा हलमा आयोजना हुने कार्यक्रममा घोडाघोडी नगरपालिकाले सहकार्य गर्ने भएको आयोजकले जनाएको छ।
गत वर्ष पहिलो संस्करणबाट उत्साहजनक प्रतिक्रिया पाएपछि यस वर्ष कार्यक्रमलाई थप व्यवस्थित, मनोरञ्जनात्मक तथा सामाजिक सन्देशमूलक बनाउने तयारी गरिएको छ। कार्यक्रममा वरिष्ठ हास्य–व्यंग्य कलाकार तथा अभिनेतासहित सुदूरपश्चिमका चर्चित कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ।
घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक रावतले गाईजात्रा मनोरञ्जनको माध्यम मात्र नभई समाजमा रहेका विकृति र विसंगतिविरुद्ध आवाज उठाउने प्रभावकारी सांस्कृतिक माध्यम भएको बताए।
मौलिक कला, संस्कृति र परम्पराको संरक्षण गर्दै नयाँ पुस्तालाई आफ्नो पहिचानसँग जोड्न यस्ता कार्यक्रम महत्वपूर्ण रहेको उनको भनाइ छ। उनले सुदूरपश्चिमका कलाकारलाई प्रोत्साहन गर्नुका साथै स्थानीय कला तथा संस्कृतिको प्रवर्द्धनका लागि स्थानीय तहबाट हुने सहयोगलाई निरन्तरता दिइने बताए।
कार्यक्रमका आर्थिक संयोजक शुभेष पाठकले करिब १५ लाख रुपैयाँको लागतमा कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिए। गत वर्षको सफलताबाट उत्साहित हुँदै यस वर्ष कार्यक्रमको प्रस्तुति, व्यवस्थापन र सामाजिक सन्देशलाई थप प्रभावकारी बनाइएको उनले बताए।
त्यस्तै, कार्यक्रमका मुख्य संयोजक सरस्वती कुमारी खड्का भट्टले सुदूरपश्चिमका कलाकारलाई सम्मानजनक मञ्च प्रदान गर्दै प्रदेशको मौलिक भाषा, कला र संस्कृतिलाई राष्ट्रियस्तरसम्म चिनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको बताइन्।
कार्यक्रममा व्यंग्य नाटक, कविता, गीत–संगीत, देउडा तथा मौलिक लोक–सांस्कृतिक प्रस्तुतिका साथै लागुऔषध दुर्व्यसन, भ्रष्टाचार, साइबर अपराध, महिला तथा घरेलु हिंसा, बालअधिकार, युवा पलायन र सामाजिक विभेद जस्ता समसामयिक विषयलाई हास्य–व्यंग्यमार्फत प्रस्तुत गरिने आयोजकले जनाएको छ।
घोडाघोडी नगरपालिकाको सहकार्यमा आयोजना हुन लागेको ‘सुदूरपश्चिम गाईजात्रा सिजन–२’ मनोरञ्जनसँगै सामाजिक सन्देश प्रवाह गर्ने, स्थानीय कलाकारलाई प्रोत्साहन गर्ने तथा सुदूरपश्चिमको मौलिक गाईजात्रा परम्परालाई नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यमा केन्द्रित रहने आयोजकको भनाइ छ।