धनगढी, २२ साउन / कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ सुन्दरी फाँटाकी करिब ४५/४६ वर्षीया समारी देवी चौधरीको धनगढीस्थित केजी अस्पतालमा पथ्थरीको शल्यक्रियापछि मृत्यु भएको छ।
आफन्तका अनुसार पथ्थरीको समस्याका कारण अस्पताल भर्ना भएकी चौधरीको साउन २१ गते बिहीबार बिहान करिब ७ बजे अस्पताल आएकी थिइन्। उनको दिउँसो करिब १ बजे शल्यक्रिया सुरु भएको बताइएको छ। तर उनको स्वास्थ्य अवस्था बिग्रँदै गएर मृत्यु भएको आफन्तले बताएका छन्।
मृतकका छोरा सुनिल चौधरी र नाती अनिल चौधरीले अस्पताल र उपचारमा संलग्न चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको आरोप लगाएका छन्। घटनापछि आफन्तले अस्पताल परिसरमा विरोधसमेत जनाएका छन्।
यता अस्पताल प्रशासनले समेत आफ्नो कमजोरी स्विकार गरि सकेको छ भने अस्पताल प्रशासन र मृतकका आफन्तबीच सहमति हुने गरी छलफल भइरहेको छ ।