धनगढी, १८ साउन / कैलालीको धनगढी उपमहानगरपालिका-४ की २३ वर्षीया पूजा धानुक धामीको मृत्यु भएको आठ दिन बितिसक्दा पनि उनको अन्त्येष्टि हुन सकेको छैन। पोस्टमार्टम प्रतिवेदन सार्वजनिक नभएको र घटनाको निष्पक्ष छानबिनको माग गर्दै माइती पक्षले आन्दोलनलाई थप सशक्त बनाएको छ।
सोमबार माइती पक्षका आफन्त, स्थानीय बासिन्दा तथा विभिन्न महिला अधिकारकर्मीहरू जिल्ला प्रहरी कार्यालय कैलाली र जिल्ला प्रशासन कार्यालय अगाडि ठूलो संख्यामा भेला भएर प्रदर्शनमा उत्रिएका छन्। उनीहरूले “पोस्टमार्टम रिपोर्ट सार्वजनिक गर”, “मान्छे मार्न पाइँदैन”, “पूजालाई न्याय दे” लगायतका नारासहित निष्पक्ष अनुसन्धान र दोषीमाथि कानुनी कारबाहीको माग गरेका छन्।
पूजाको मृत्यु साउन ११ गते भएको थियो। घटनापछि मृत्युको कारणलाई लिएर विवाद उत्पन्न भएको छ। माइती पक्षले हत्या भएको आशंका व्यक्त गर्दै निष्पक्ष अनुसन्धानको माग गरिरहेको छ भने ससुराली पक्षले आत्महत्या भएको दाबी गर्दै आएको छ।
साउन १४ गते नेपालगञ्जमा पोस्टमार्टम सम्पन्न भए पनि हालसम्म प्रतिवेदन प्राप्त नभएको बताइएको छ। प्रतिवेदन नआएसम्म अन्तिम दाहसंस्कार नगर्ने अडानमा माइती पक्ष रहेकाले शव अझै सेती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ।
यसअघि दुवै पक्षबीच सहमति गराएर अन्त्येष्टिको प्रयास गरिए पनि सफल हुन सकेको थिएन। जिल्ला प्रहरी कार्यालय कैलालीले भने घटनाको अनुसन्धान जारी रहेको जनाउँदै सबै पक्षलाई संयमता अपनाउन र अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक कैलाश सिंह बिष्टका अनुसार पोस्टमार्टम प्रतिवेदन अझै प्राप्त भएको छैन। उनले माइती पक्षले दाइजो फिर्ता गर्नुपर्ने मागसमेत अघि सारेको जानकारी दिए। बिष्टका अनुसार पोस्टमार्टम प्रतिवेदन आउन केही समय लाग्न सक्ने भएकाले अनुसन्धान प्रक्रिया जारी रहेको छ।
पोस्टमार्टम प्रतिवेदन सार्वजनिक हुन नसक्दा र अन्तिम दाहसंस्कारको टुंगो नलागेकाले धनगढीमा आन्दोलन थप चर्किने संकेत देखिएको छ।