काठमाडौं, १३ साउन / सरकार र नेपाल चिकित्सक संघबीच पाँचबुँदे सहमति भएपछि देशभरका अस्पतालमा चिकित्सकहरूले स्थगित गरेका नियमित स्वास्थ्य सेवा पुनः सञ्चालन हुने भएको छ।
नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिटको घटनापछि आन्दोलनमा उत्रिएको नेपाल चिकित्सक संघले बुधबार सरकारसँग सहमति गरेपछि आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको हो। संघले देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई भोलिदेखि नियमित रूपमा स्वास्थ्य सेवा सञ्चालन गर्न आह्वान गरेको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा नेपाल चिकित्सक संघका पदाधिकारीबीच भएको छलफलपछि पाँचबुँदे सहमति भएको हो।
सहमतिअनुसार नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट र दुर्व्यवहारमा संलग्न व्यक्तिमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ अनुसार थप कानुनी कारबाही अघि बढाइनेछ।
यस्तै, स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी ऐन तथा मुलुकी अपराध संहिताका सम्बन्धित प्रावधान संशोधनका लागि आगामी प्रतिनिधिसभा अधिवेशनमा विधेयक दर्ता गर्ने प्रक्रिया तत्काल सुरु गरिने सहमति भएको छ।
स्वास्थ्यसम्बन्धी विषयमा उपभोक्ता संरक्षण ऐन, २०७५ मा आवश्यक संशोधनका लागि नेपाल चिकित्सक संघको सहभागितामा सात दिनभित्र कार्यदल गठन गरिनेछ। यसका साथै यसअघि सरकार र चिकित्सक संघबीच भएका सहमतिहरू कार्यान्वयन गर्न तीन दिनभित्र अर्को कार्यदल गठन गर्ने निर्णय पनि गरिएको छ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्वराज दवाडीद्वारा जारी विज्ञप्तिमा सरकारले माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएकाले आन्दोलनका सबै कार्यक्रम तत्कालका लागि स्थगित गरिएको उल्लेख छ।
चिकित्सकहरूको आन्दोलनका कारण केही दिनदेखि आकस्मिक बाहेकका अधिकांश स्वास्थ्य सेवा प्रभावित भएका थिए। नयाँ सहमतिसँगै भोलिदेखि देशभरका सरकारी तथा निजी अस्पतालमा नियमित स्वास्थ्य सेवा सञ्चालन हुने अपेक्षा गरिएको छ।य