धनगढी, १३ साउन / कैलालीको धनगढी उपमहानगरपालिका- ४, न्युरोड टोलकी २४ वर्षीया पूजा धानुक (धामी) को शंकास्पद मृत्यु प्रकरणमा पोस्टमार्टमका लागि शव नेपालगञ्ज लगिएको छ। धनगढीमा फरेन्सिक पोस्टमार्टमका लागि आवश्यक विशेषज्ञ सेवा उपलब्ध नभएकाले माइती पक्षले शव नेपालगञ्ज लगेको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक कैलाश सिंह बिष्टका अनुसार धनगढीमा विशेषज्ञ चिकित्सकको अभाव रहेकाले माइती पक्षको आग्रहमा शव पोस्टमार्टमका लागि नेपालगञ्ज पठाइएको हो। पोस्टमार्टम प्रतिवेदन आएपछि मात्रै मृत्युको वास्तविक कारण खुल्ने र त्यसका आधारमा अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।
यसैबीच, घटनामा संलग्न भएको आशंकामा प्रहरीले मृतकका श्रीमान् भरत धामी सहित पाँच जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटनापछि मृतकका माइती पक्षले यो आत्महत्या नभई हत्या भएको दाबी गर्दै श्रीमान् तथा ससुराली परिवारविरुद्ध किटानी जाहेरी दर्ता गरेका छन्। माइती पक्षले घटनाको निष्पक्ष छानबिन गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेको छ।
करिब नौ महिनाअघि मात्रै विवाह भएकी पूजाको सोमबार साँझ आफ्नै घरमा शंकास्पद अवस्थामा मृत्यु भएको थियो। ससुराली पक्षले आत्महत्या भएको दाबी गरे पनि घटनालाई लिएर विभिन्न आशंका उत्पन्न भएपछि प्रहरीले सबै कोणबाट अनुसन्धान अघि बढाइरहेको जनाएको छ।