धनगढी, ९ साउन / २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बनेपछि उपचारका लागि सेती प्रादेशिक अस्पतालमा सारिएको छ।
शनिबार बिहान धनगढी उपमहानगरपालिका–१ स्थित कृष्ण मन्दिर धर्मशालाको २११ नम्बर कोठामा पुगेर सेती प्रादेशिक अस्पतालका चिकित्सक डा. गजेन्द्र दुवाल नेतृत्वको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो। परीक्षणपछि चिकित्सकले तत्काल आईसीयूमा भर्ना गरी उपचार गर्न सिफारिस गरेका थिए। त्यसपछि उनको स्वास्थ्यमा थप समस्या देखिएसँगै उपचारका लागि सेती प्रादेशिक अस्पतालमा सारिएको हो।
बिहीबारदेखि पाँचबुँदे माग राखेर सत्याग्रहमा बसेका डा. केसीको स्वास्थ्य निरन्तर कमजोर बन्दै गएको उनका सहयोगी अमृत जैशीले बताएका छन्।
यसैबीच, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकार डा. केसीका माग सम्बोधन गर्न सकारात्मक रहेको बताएका छन्। शुक्रबार साँझ मन्त्री पोखरेलले उनका सहयोगी अमृत जैशीसँग छलफल गरेका थिए भने राति डा. केसीसँग टेलिफोन संवाद गरी माग सम्बोधनका लागि सरकार प्रतिबद्ध रहेको बताएका थिए।
संवादका क्रममा डा. केसीले पाँचबुँदे मागसँगै शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा तत्काल ३०० शैयाको अस्पताल सञ्चालन, चिकित्सा शिक्षाको अध्ययन सुरु तथा स्वार्थप्रेरित ढंगले गरिएको उपकुलपति र रजिस्ट्रारको नियुक्ति खारेज गर्नुपर्ने आफ्नो मुख्य अडान दोहोर्याएका थिए।
मन्त्री पोखरेलले ती विषयमा वार्ता टोली गठन गर्ने र आवश्यक परे आफू नै धनगढी आउने प्रतिबद्धता जनाएको सहयोगी अमृत जैशीले जानकारी दिएका छन्।
तर डा. गोविन्द केसीको अनसनको विषयलाई लिएर नागरिक भने पक्ष विपक्षमा बाँडिएका छन्। सञ्चालनको मुखैमा रहेको गेटा विश्वविद्यालयलाई अझै ढिलासुस्ती गर्नको लागि केसीले अनसन बसेका हुन् कि भन्ने संशय नागरिकहरूमा रहेको छ।
