बझाङ २७ असार/बझाङको केदारस्युँ गाउँपालिका–७ र दुर्गाथली गाउँपालिका–६ को सिमानास्थित सुङ्गरे क्षेत्रमा बोलेरो जिप दुर्घटना तिन जनाको मृत्यु भएको छ । केदारस्यूँ गाउँपालिका–७ बाट दुर्गाथली गाउँपालिका–६ च्वाबनतर्फ जाँदै गरेको से १ च २४४४ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो ।
बझाङमा शनिबार भएको सवारी दुर्घटनामा परी हालसम्म ३ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ८ जना गम्भीर र ४ जना सामान्य घाइते भएका छन् । दुर्घटनामा परी दुर्गाथली गाउँपालिका–६ का चक्रबहादुर महत, केदारस्युँ गाउँपालिका–७ की विमला महत धामी र दुर्गाथली गाउँपालिका–६ की कुटुरीदेवी महतको मृत्यु भएको हो ।
दुर्घटनामा दुर्गाथली गाउँपालिका–६ का पूर्व वडा सदस्य रामबहादुर महत, हासुलीदेवी महत, झल्कादेवी महत, हर्कादेवी महत, जैमतीदेवी महत, शिक्षक रामबहादुर महत, शिक्षक देवबहादुर जाग्री तथा केदारस्युँ गाउँपालिका–७ का सवारी चालक देवबहादुर धामी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी प्रहरी निरिक्षक दिपक बिष्टले जानकारी दिएका छन् ।
यस्तै, दुर्गाथली गाउँपालिका–६ का धनेसेर जाग्री, रमेश धामी, नवराज धामी र बिरू जाग्री सामान्य घाइते भएका छन् । गम्भीर घाइतेहरूको उद्धार तथा उपचारका लागि हेलिकप्टर परिचालन गरिएको छ । उनीहरूलाई थप उपचारका लागि अस्पतालतर्फ लैजाने तयारी भइरहेको सम्बन्धित जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
