धनगढी, २७ असार/बझाङको केदारस्युँ गाउँपालिका–७ र दुर्गाथली गाउँपालिका–६ को सिमानास्थित सुङ्गरे क्षेत्रमा बोलेरो जिप दुर्घटनामा परेको छ ।
जिप सडकबाट करिब ३०० मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् । जिपमा करिब १६–१७ जना सवार रहेको बताईएको छ । घटना स्थालबाट प्रहरी चौकी चार/पाँच घण्टाको दुरीमा रहेकोले घटनास्थलमा टोली गएको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी प्रहरी निरिक्षक दिपक बिष्टले जानकारी दिएका छन् । जिपमा सबार मध्ये ३ जनाको घटनास्थलै मृत्यु भएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।
साथै, ६ जनाको अवस्था चिन्ताजनक रहेको केदारस्युँ गाउँपालिका–७ का वडाध्यक्ष चन्द्रबहादुर धामीले जानकारी दिएका छन् । प्रहरी तथा स्थानीयवासी उद्धार कार्यमा खटिएका छन् ।
दुर्घटनामा घाइते भएकाहरूको उद्धारका लागि हेलिकप्टरको तयारी भैरहेको बताईएको छ । घटनाको विस्तृत विवरण तथा क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
