धनगढी , १२ असार / कैलालीको लम्कीचुहा प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. कमलेश प्रसाद यादवमाथि अभद्र व्यवहार, गालीगलौज तथा धम्की दिएको आरोप सार्वजनिक भएपछि नेपाल चिकित्सक संघ प्रदेश र केन्द्र दुवैले घटनाप्रति गम्भीर चासो व्यक्त गरेका छन्।
नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेश, धनगढी शाखाले शुक्रबार विज्ञप्ति जारी गर्दै चिकित्सकमाथि भएको भनिएको दुर्व्यवहारले सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमै असर पुग्ने जनाएको छ। संघले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने धम्की, कुटपिट, मानसिक दबाब र उपचार प्रक्रियामा अवाञ्छित हस्तक्षेप अस्वीकार्य भएको स्पष्ट पारेको छ।
प्रदेश शाखाले सम्बन्धित निकायसँग घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न तथा दोषीमाथि प्रचलित कानुनअनुसार आवश्यक कारबाही गर्न माग गरेको छ। यस्ता घटनाले स्वास्थ्यकर्मीको मनोबल कमजोर बनाउने मात्र नभई समग्र स्वास्थ्य सेवा प्रणाली प्रभावित हुने संघको भनाइ छ।
उक्त घटनापछि नेपाल चिकित्सक संघको केन्द्रीय समितिले पनि छुट्टै प्रेस विज्ञप्ति जारी गर्दै लम्कीचुहा नगरपालिकाकी नगर प्रमुख सुशिला शाहीले डा. यादवमाथि अभद्र व्यवहार, गालीगलौज र धम्की दिएको आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
केन्द्रीय समितिले जिम्मेवार सार्वजनिक पदमा रहेको व्यक्तिबाट चिकित्सकको पेशागत मर्यादाविपरीत गरिएको व्यवहारले सम्पूर्ण स्वास्थ्य क्षेत्रको सम्मानमाथि नै प्रश्न उठाएको उल्लेख गरेको छ। संघले नगर प्रमुखलाई प्रचलित कानुनको दायरामा ल्याई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी कानुन प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ।
नगर प्रमुख शाहीले गाली गलौज गरेपछि आफुले नगर प्रमुख बिरुद्ध मुद्दा दायर गरेको डा.यादवले भने पनि प्रहरीले आफ्नो उक्त मुद्दा आफ्नो अधिकार क्षेत्रमा नै न परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।
यस्ता छन् प्रेस विज्ञप्ति:-


