धनगढी,१२ असार / कैलालीको लम्कीचुहा अस्पतालको स्वामित्व, सञ्चालन अधिकार र कर्मचारी व्यवस्थापनलाई लिएर लामो समयदेखि जारी विवाद अहिले थप पेचिलो बनेको छ। नगरपालिका र प्रदेश सरकारबीचको अधिकार क्षेत्रको संघर्षले अस्पतालभित्रको प्रशासनिक वातावरण मात्रै प्रभावित गरेको छैन, प्रदेश सरकारले खटाएका स्वास्थ्यकर्मीसमेत राजनीतिक खिचातानीको प्रत्यक्ष मारमा परेका छन्।
विवादको पछिल्लो कडीका रूपमा लम्कीचुहा प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. कमलेशप्रसाद यादवले नगर प्रमुख सुशीला शाहीविरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी दिएका छन्। उनले मेयर शाहीबाट गालीगलौज, अपमानजनक व्यवहार तथा ज्यानको धम्की पाएको दाबी गरेका छन्।
जाहेरीसँगै उनले मेयर शाहीले बोलेको भनिएको अडियो प्रमाणसमेत प्रहरीलाई बुझाएका छन्। सार्वजनिक भएको अडियोमा मेयर शाहीले डा. यादवलाई पिट्नेसम्मको चेतावनी दिएको आरोप छ। घटनापछि अस्पतालभित्रको विवाद खुला टकरावमा परिणत भएको छ।
प्रहरी स्रोतका अनुसार घटनाको प्रकृति राजनीतिक भएकाले यसको दीर्घकालीन समाधान प्रदेश सरकारको सक्रिय पहलबाट मात्रै सम्भव देखिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका उच्च अधिकारीहरूले पनि विवाद समाधानको जिम्मेवारी प्रदेश सरकार र स्वास्थ्य मन्त्रालयले लिनुपर्ने धारणा व्यक्त गरेका छन्।
हालै मात्रै नियुक्त भएका सुदूरपश्चिम प्रदेशका स्वास्थ्य मन्त्री बेलबहादुर राना मगरले समस्या समाधानका उपायबारे छलफल भइरहेको बताएका छन्। तर, अहिलेसम्म कुनै ठोस निकास निस्कन सकेको छैन।
उद्घाटन भयो, विवाद सकिएन :-
गत जेठ २४ गते मुख्यमन्त्री कमलबहादुर शाहले लम्कीचुहा प्रादेशिक अस्पतालको भव्य रूपमा उद्घाटन गरेका थिए। बाजागाजा, झाँकी र जुलुससहित गरिएको उद्घाटन कार्यक्रममा प्रदेश सरकारले अस्पताललाई क्षेत्रीय स्वास्थ्य सेवाको केन्द्र बनाउने प्रतिबद्धता जनाएको थियो।
तर उद्घाटनसँगै विवाद अन्त्य हुने अपेक्षा गरिए पनि अवस्था उल्टै जटिल बनेको छ।
लम्कीचुहा नगरपालिका-१० चुहास्थित अस्पताल लामो समयदेखि नगरपालिकाले सञ्चालन गर्दै आएको थियो। प्रदेश सरकारले अस्पताललाई १५ शैय्याबाट ५० शैय्यामा स्तरोन्नति गरी प्रादेशिक अस्पताल बनाउने योजना अघि सारेपछि स्वामित्वको विवाद सुरु भएको थियो।
प्रदेश सरकारले चालु आर्थिक वर्षमा अस्पतालका लागि करिब साढे चार करोड रुपैयाँ बजेट विनियोजन गरेको छ भने १४६ जनाको दरबन्दीसमेत स्वीकृत गरेको जनाएको छ। सर्वोच्च अदालतले समेत अस्पताल प्रदेश सरकारको मातहत रहने पक्षमा फैसला गरिसकेको छ। तर कर्मचारी व्यवस्थापन, तलब भुक्तानी र सञ्चालन अधिकारका विषय अझै टुंगो लाग्न सकेका छैनन्।
मेयरको स्वीकारोक्ति : “म आवेशमा बोलेकी हुँ”
नगर प्रमुख सुशीला शाहीले डा.यादवसँग भनाभन भएको स्वीकार गरेकी छन्। उनका अनुसार अस्पताल सञ्चालनसम्बन्धी सम्झौता नहुँदै प्रदेश पक्षबाट दबाब सिर्जना गर्न खोजिएको भन्दै विवाद उत्पन्न भएको हो।
उनले अस्पतालको बैंक खाता, कर्मचारीको तलब र प्रशासनिक जिम्मेवारी अझै नगरपालिकाकै नाममा रहेको दाबी गरेकी छन्। आफूले छलफलका लागि पटक-पटक बोलाउँदा पनि मेसु यादव उपस्थित नभएको र त्यसकै क्रममा विवाद चर्किएको उनको भनाइ छ।
मेयर शाहीले अस्पताल सञ्चालक समिति सर्वदलीय र सर्वपक्षीय बनाउनुपर्ने मागसमेत राखेकी छन्। साथै पाँच महिनादेखि तलब नपाएको भन्दै केही कर्मचारीले नगरपालिकामा नाराबाजी र तालाबन्दीको प्रयास गरेको घटनाप्रति पनि उनले असन्तुष्टि व्यक्त गरेकी छन्।
अस्पतालको विवाद कि राजनीतिक शक्ति प्रदर्शन ?
लम्कीचुहा अस्पतालको विवाद स्वास्थ्य सेवा व्यवस्थापनको विषयभन्दा धेरै माथि पुगिसकेको स्थानीय राजनीतिक वृत्तको बुझाइ छ। नेपाली कांग्रेसभित्रकै शक्ति संघर्ष र पारिवारिक सम्बन्धको प्रभाव अस्पताल विवादमा देखिन थालेको टिप्पणी हुन थालेको छ।
स्थानीय राजनीतिक स्रोतहरूका अनुसार मुख्यमन्त्री कमलबहादुर शाह र नगर प्रमुख सुशीला शाहीबीचको सम्बन्ध काका–भतिजीको हो। दुवै एउटै राजनीतिक दल र एउटै क्षेत्रका प्रभावशाली नेता हुन्। तर लामो समयदेखि उनीहरूबीच राजनीतिक तथा व्यक्तिगत दूरी बढ्दै गएको बताइन्छ।
मेयर शाहीले पनि मुख्यमन्त्री शाह आफ्ना काका पर्ने र लामो समयदेखि बोलचालसमेत नरहेको स्वीकार गरेकी छन्। उनले आफ्नो नेतृत्वलाई कमजोर पार्न विभिन्न समूह परिचालन गरिएको आरोपसमेत लगाएकी छन्।
सेवाभन्दा राजनीति हाबी
लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा विकास गर्ने उद्देश्य सकारात्मक भए पनि प्रदेश सरकार र नगरपालिकाबीचको शक्ति संघर्षका कारण अस्पतालको सेवा प्रवाह प्रभावित हुने जोखिम बढ्दै गएको छ। स्वास्थ्यकर्मीहरू असुरक्षित महसुस गरिरहेका छन् भने प्रशासनिक निर्णयहरू पनि विवादको घेरामा परिरहेका छन्।
अस्पताललाई राजनीतिक रंगमञ्च बनाउने प्रवृत्ति रोक्न नसके आगामी दिनमा यसको असर प्रत्यक्ष रूपमा सेवाग्राही नागरिकमाथि पर्ने देखिन्छ। सर्वोच्च अदालतको फैसला आइसकेपछि पनि कार्यान्वयनको तहमा देखिएको असमझदारीले प्रदेश र स्थानीय सरकारबीचको समन्वयको वास्तविक अवस्था उजागर गरेको छ।
लम्कीचुहा अस्पतालको विवाद अहिले एउटा अस्पतालको प्रशासनिक विषयमा सीमित छैन, यो प्रदेश सरकार र स्थानीय सरकारबीचको शक्ति संघर्ष, राजनीतिक इगो र नेतृत्वबीचको अविश्वासको प्रतीकका रूपमा विकसित हुँदै गएको छ। नागरिक भने उपचारभन्दा बढी विवादको समाचार सुन्न बाध्य बनेका छन्।
मुद्दाको अवस्था के छ ?
मे. सु. डा.यादवले मुद्दा हालेको बताए पनि अहिले सम्म जिल्ला प्रहरी कार्यालयमा भने कुनै जानकारी नआएको , आए पनि सो मुद्दा प्रहरीको अधिकार भित्र नै नपर्ने सिदै अदालतमा उक्त मुद्दाको सुनवाइ हुने जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
