धनगढी, ६ असार / “हाम्रो धनगढी राम्रो धनगढी, कला संस्कृति झन् बढी” भन्ने मूल नारासहित धनगढी उपमहानगरपालिका–१ राष्ट्रबैंक चोकमा सञ्चालन भइरहेको सन्ध्याकालीन धनगढी उत्सवमा आज विशेष सांगीतिक तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ।
साँझ ५ बजेदेखि ९ बजेसम्म सञ्चालन हुने उत्सवमा गायिका इब्सल सन्ज्यालको विशेष प्रस्तुति रहनेछ। साथै गायक चन्दन एस.के., मणि मेहता, नृत्याङ्गना सबिता लामा तथा बाल कलाकार हानिस मौनीलगायतले मनोरञ्जनात्मक प्रस्तुति दिनेछन्।कार्यक्रमको सञ्चालन गुणाकर पनेरु र प्रेम बोगटीले गर्नेछन्।
असार ११ गतेसम्म चल्ने उत्सवमा आगामी दिनहरूमा ज्योति मगर, एलिना चौहान, सोनु कुस्मी, लक्ष्मी राना, चक्र बम, लालबहादुर धामी, रवि ओड र मनोज धामीलगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ।प्रभात मिडिया एण्ड इभेन्ट प्रा.लि.द्वारा आयोजित तथा प्याब्सन धनगढी नगरपालिका समितिको सह–आयोजनामा भइरहेको उत्सवका लागि विद्यार्थीलाई ७० रुपैयाँ र अन्य दर्शकलाई १०० रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको छ।
