धनगढी, २९ जेठ / गेटा आँखा अस्पतालमा देखिएको कर्मचारी आन्दोलन व्यवस्थापन र कर्मचारी पक्षबीच भएको १२ बुँदे सहमति कार्यान्वयन गर्ने निर्णयसँगै टुंगिएको छ। गेटा आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोकराज जोशीको अध्यक्षतामा २०८२ जेठ २८ गते बसेको गेटा आँखा अस्पताल विकास समिति र व्यवस्थापन समितिको संयुक्त बैठकले कर्मचारीका माग सम्बोधनका लागि यसअघि भएको १२ बुँदे सहमति कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो।
बैठकले अस्पतालमा करार सेवामा कार्यरत दीर्घबहादुर चन्द, रमेशचन्द्र भट्ट र राजबहादुर चौधरीको करार अवधि थप नगर्ने तथा गोविन्दराज जोशीलाई अन्यत्र सरुवा गर्न नेपाल नेत्र ज्योति संघको केन्द्रीय कार्यसमितिसमक्ष अनुरोध गर्ने सहमति गरेको छ।
त्यसैगरी अस्पतालको आर्थिक, प्रशासनिक तथा प्राविधिक कार्यको प्रत्येक वर्ष सार्वजनिक सुनुवाइ (अडिट) गर्ने, रिक्त दरबन्दीहरूमा तत्काल पदपूर्तिको प्रक्रिया अघि बढाउने तथा खरिद प्रक्रिया अस्पतालको नियमावलीअनुसार सञ्चालन गर्ने निर्णय गरिएको छ।
बैठकले कर्मचारी प्रशासन, आर्थिक प्रशासन, प्राविधिक कार्य, दैनिक समस्या समाधान, नियमित अनुगमन तथा गुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउने गरी व्यवस्थापन प्रणालीलाई चुस्त र दुरुस्त बनाउने सहमति समेत गरेको छ।
यस्तै गोदावरी नगरपालिका तथा अस्पताल आसपासका वडाका बासिन्दालाई प्राथमिकतामा राखी नेपाल नेत्र ज्योति संघको आजीवन सदस्यता सहज र पारदर्शी रूपमा वितरण गर्ने व्यवस्था मिलाउन केन्द्रीय कार्यालयमा प्रस्ताव पठाउने निर्णय गरिएको छ।
बैठकमा भएका सहमतिहरू एक महिनाभित्र कार्यान्वयन नभए अस्पताल व्यवस्थापन समितिले आवश्यक निर्णय गरी मार्ग प्रशस्त गर्ने सहमति पनि भएको छ।
उक्त सहमतिपछि जेठ २९ गते बिहान स्थानीय तहका प्रतिनिधि, प्रशासन, अस्पताल व्यवस्थापन समिति तथा कर्मचारीहरूको उपस्थितिमा सहमति सार्वजनिक गरिएको छ। लामो समयदेखि उठ्दै आएका कर्मचारीका माग सम्बोधनतर्फ व्यवस्थापन सकारात्मक बनेसँगै अस्पतालभित्रको विवाद समाधान उन्मुख भएको सरोकारवालाहरूले बताएका छन्।
सम्पादकको तर्फबाट :-
पत्रकारिताको मूल दायित्व सत्य, तथ्य र जनसरोकारका विषयलाई निष्पक्ष रूपमा उजागर गर्नु हो। गेटा आँखा अस्पतालमा देखिएको विवाद, कर्मचारीका माग र त्यसले सेवा प्रवाहमा पार्न सक्ने प्रभावका विषयलाई सुदूरपत्र अनलाइनले सुरुदेखि नै गम्भीरतापूर्वक उठान गर्दै आएको थियो।
हामीले कुनै पक्षको समर्थन वा विरोधभन्दा पनि जनताको स्वास्थ्य सेवासँग प्रत्यक्ष जोडिएको विषय भएकाले तथ्यमा आधारित समाचारमार्फत सम्बन्धित पक्षहरूको ध्यानाकर्षण गराउने प्रयास गरेका थियौं। निरन्तर समाचार सम्प्रेषण, सरोकारवालाको आवाज र समस्याको वास्तविक अवस्थालाई सार्वजनिक गर्ने क्रममा आज व्यवस्थापन र कर्मचारी पक्षबीच सहमतिको चरणमा पुग्नु सकारात्मक उपलब्धि भएको हाम्रो ठहर छ ।
यो सहमतिले अस्पतालमा सुशासन, पारदर्शिता र उत्तरदायित्वको अभ्यासलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। सहमति कार्यान्वयन हुनु अझ महत्वपूर्ण पक्ष भएकाले सुदूरपत्र अनलाइनले आगामी दिनमा पनि यसको कार्यान्वयन अवस्थामाथि निरन्तर निगरानी राख्नेछ।
जनसरोकारका विषयमा जिम्मेवार पत्रकारिताको अभ्यास गर्दै सत्य र तथ्यको पक्षमा उभिने हाम्रो प्रतिबद्धता यथावत् रहनेछ ।
