धनगढी, २७ जेठ / भारत–नेपाल सीमा क्षेत्रस्थित गौरीफन्टा नाकामा तैनाथ भारतीय सशस्त्र सीमा बल (एसएसबी) को सक्रियताले मानव बेचबिखनको लागि भारत तर्फ लगिँदै गरेका नाबालिगको उद्धार गरिएको छ। एसएसबीको ३९ औँ बटालियनले दुई नेपाली नाबालिगलाई सुरक्षित उद्धार गरी सम्बन्धित निकायको जिम्मा लगाएको जनाएको छ।
एसएसबीका अनुसार जेठ २६ गते नेपालबाट भारततर्फ प्रवेश गर्न लागेका तीन नेपाली नागरिकलाई गौरीफन्टा सीमा चौकीमा नियमित जाँचका क्रममा रोकिएको थियो। सो समूहमा अछाम जिल्लाका १९ वर्षीय प्रकाश कामीसहित एक नाबालिग बालक र एक नाबालिग बालिका रहेका थिए।
प्रारम्भिक सोधपुछका क्रममा प्रकाश कामीले आफू महाराष्ट्रको पुणेस्थित एक निजी होटलमा कार्यरत रहेको तथा दुवै नाबालिगलाई आफूसँगै भारत लैजाँदै गरेको बताएका थिए। तर थप अनुसन्धानका क्रममा ती दुवै नाबालिगले परिवारलाई कुनै जानकारी नदिई घरबाट निस्किएको खुलासा गरे ।
त्यसपछि एसएसबीले तत्काल नाबालिगका अभिभावकहरूसँग सम्पर्क गरेको थियो। अभिभावकहरूले बालबालिका जानकारी नदिई घरबाट हिँडेको बताएका थिए।
प्रारम्भिक अनुसन्धानका आधारमा मानव बेचबिखन वा बाल शोषणसँग सम्बन्धित जोखिमको आशंका देखिएपछि एसएसबीले आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी तीनै जनालाई नेपाल प्रहरीको जिम्मा लगाएको जनाएको छ। उद्धार तथा हस्तान्तरण प्रक्रियामा नेपाल सशस्त्र प्रहरी बल (एपीएफ), माइती नेपाल सीमा निगरानी समूह (एमएसएस) तथा संरक्षण तथा पुनःस्थापना केन्द्र (पीआरसी) का प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।
उद्धार गरिएका दुवै नाबालिगलाई परिवारको जिम्मा लगाउने प्रक्रिया अगाडि बढाइएको सम्बन्धित निकायले जनाएको छ।
