धनगढी, २५ जेठ / धनगढीमा जारी सन्ध्याकालीन धनगढी उत्सव–२०८३ को रौनक दिनप्रतिदिन बढ्दै गएको छ । आज पाँचौँ दिन दर्शकहरूको उल्लेखनीय सहभागितासँगै उत्सवस्थल सांस्कृतिक र मनोरञ्जनात्मक गतिविधिले भरिभराउ बनेको थियो। स्थानीय कला, संस्कृति तथा सिर्जनशील प्रतिभाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उत्सवले दिनप्रतिदिन थप आकर्षण बटुल्दै गएको आयोजक प्रभात मिडियाका अध्यक्ष प्रकाश छेडालले बताए ।
उत्सवमा दैनिक रूपमा प्रस्तुत हुने सांगीतिक तथा सांस्कृतिक कार्यक्रमहरूले दर्शकलाई मनोरञ्जन प्रदान गर्नुका साथै स्थानीय कला–संस्कृतिप्रति आकर्षित गरिरहेका छन्। विभिन्न उमेर समूहका दर्शकहरूको उपस्थितिले उत्सवस्थलमा उत्साहपूर्ण वातावरण सिर्जना भएको आयोजकले जनाएको छ।
धनगढी उपमहानगरपालिकाको कार्यालयदेखि राष्ट्र बैंक चोकसम्मको क्षेत्रमा सञ्चालन भइरहेको उत्सव प्रभात इभेन्ट एण्ड मिडिया प्रालिको आयोजनामा भइरहेको हो। उत्सवको औपचारिक उद्घाटन बिहीबार गरिएको थियो।
आयोजकका अनुसार उत्सव असार ११ गतेसम्म सञ्चालन हुनेछ। गर्मीयामलाई ध्यानमा राख्दै उत्सव दैनिक साँझ ५ बजेदेखि राति ९ बजेसम्म सञ्चालन भइरहेको छ। उत्सव अवधिभर सांस्कृतिक कार्यक्रम, मनोरञ्जनात्मक गतिविधि तथा स्थानीय प्रतिभाहरूको प्रस्तुति निरन्तर रहने जनाइएको छ।
उत्सव परिसरमा करिब ३० वटा विभिन्न स्टल, मनोरञ्जनात्मक मेला तथा सांस्कृतिक गतिविधिहरू समावेश गरिएका छन्। प्रवेश शुल्क विद्यार्थीका लागि २० रुपैयाँ र सर्वसाधारणका लागि ३० रुपैयाँ निर्धारण गरिएको छ।
उत्सवका संयोजक तथा कार्यक्रम सञ्चालक गुणाकर पनेरुले उत्सवले स्थानीय भाषा, कला, संस्कृति तथा सिर्जनशील प्रतिभाको विकास र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्। आयोजकले उत्सवमा सहभागी भई स्थानीय कला, संस्कृति र प्रतिभालाई प्रोत्साहन गर्न सम्पूर्ण नगरवासी तथा दर्शकलाई आग्रह गरेका छन्।
यस्तै उत्सव सञ्चालन रेखा धानुकले पनि गरिरहेकी छन्।
