धनगढी, २ जेठ/कैलालीको गोदावरी नगरपालिकाको मुटु मानिने अत्तरिया चोकमा आधुनिक पैदलयात्री आकाशे पुल निर्माण कार्यको औपचारिक सुरुवात भएको छ । गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले एक विशेष समारोहका बीच विधिपूर्वक पूजापाठ गरी आयोजनाको शिलान्यास गरेका हुन् । लामो समयदेखि प्रतिक्षा गरिएको यस आयोजनाको शिलान्यास गर्दै नगर प्रमुख भट्टले अत्तरिया चोकको ट्राफिक व्यवस्थापन चुस्त बनाउन र पैदलयात्रीको सुरक्षा सुनिश्चित गर्न यो पुल कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरेका छन् ।
व्यापारिक केन्द्रका रूपमा विकास भइरहेको अत्तरिया चोकमा व्यवसायिक क्षेत्र र पैदलयात्रीको अत्यधिक चाप रहने गरेकाले यो पुल अत्यावश्यक मानिएको हो । शिलान्यास कार्यक्रममा बोल्दै गोदावरी नगरपालिका नगर प्रमुख बिरेन्द्र भट्टले अत्तरिया चोक सुदूरपश्चिमकै प्रमुख प्रवेशद्वार र अत्यधिक व्यस्त व्यापारिक केन्द्र हो। यहाँ दिनप्रतिदिन बढ्दो सवारी साधनको चाप र पैदलयात्रीको असुरक्षालाई मध्यनजर गर्दै हामीले यो आकाशे पुल निर्माणको योजना अघि बढाएका हौं। यो पुल केवल एउटा पूर्वाधार मात्र होइन, अत्तरिया सहरलाई आधुनिक, सुरक्षित र व्यवस्थित बनाउने हाम्रो अभियानको प्रस्थानविन्दु हो।”
“सडक पार गर्दा हाम्रा बालबालिका, ज्येष्ठ नागरिक र सर्वसाधारणले भोग्नुपरेको सास्ती र दुर्घटनाको जोखिम अब अन्त्य हुनेछ। निर्माण व्यवसायी कम्पनीलाई गुणस्तरमा कुनै सम्झौता नगरी तोकिएको समय २०८३ पुस भित्रै काम सम्पन्न गर्न निर्देशन दिन्छु। मेयर बिरेन्द्र भटेटले भने स्थानीय सरकारको तर्फबाट आवश्यक पर्ने सम्पूर्ण सहयोग र अनुगमन निरन्तर रहनेछ। नगरको विकासमा यहाँका उद्योगी, व्यवसायी र आम नगरवासीको साथ र सहयोग आगामी दिनमा पनि यसरी नै पाइरहने विश्वास लिएको छु।”
१ करोड ४२ लाख बढीको लगानी
गोदावरी नगरपालिका वडा नं १ मा निर्माण हुन लागेको यस पुलको कुल लागत मूल्य अभिवृद्धि कर भ्याट र प्रोभिजनल सम (पिएस) सहित रु १,४२,८५,४९८.१४ (एक करोड बयालीस लाख पचासी हजार चार सय अन्ठानब्बे रुपैयाँ चौध पैसा) रहेको छ । नगर कार्यपालिकाको कार्यालय मार्फत अघि बढाइएको यस आयोजनाको निर्माण जिम्मा ‘क्रीजल–त्रिनेत्र–सिद्धनाथ जेभी, का इन्जिनियर मोहित चन्दले समय अवधी भित्र सक्काउने बताएका छन् ।
निर्माण कम्पनी र नगरपालिकाबीच गत २०८२ साल फागुन १० गते सम्झौता भएको थियो । सम्झौता अनुसार आगामी २०८३ साल पुस ३० गते सन् (२०२७ जनवरी १४) भित्र पुल निर्माण सम्पन्न गरी सर्वसाधारणका लागि खुल्ला गरिने लक्ष्य राखिएको छ । पुल निर्माणसँगै अत्तरिया चोकमा हुने सडक दुर्घटना न्यूनीकरण हुने र सहरी सौन्दर्यतामा समेत वृद्धि हुने अपेक्षा नगरवासीले गरेका छन् ।