धनगढी, २७ वैशाख/कैलालीको बुढीतोलालाई पर्यटकीय गन्तव्य बनाउन प्रमुख अतिथीलाई पाँच बुदे माग संगै पाँच किलोको मालाको भारी बोकाएका छन् । ‘बुढीतोला पर्यटन महोत्सव’को समापन समारोहमा सुदूरपश्चिम प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालालाई आयोजकले आफ्ना पाँच बुदे माग र ५ किलोको मालाले सम्मान गरिएको छ ।
आयोजक बुढीतोला क्षेत्र पर्यटन प्रवद्धन समितिले समारोहका प्रमुख अतिथि समेत रहेका कोइरालालाई ५ किलोको मालाले सम्मान गरेको हो । उनीहरुले कैलालीको गोदावरी नगरपालिका–४ स्थित बुढीतोला क्षेत्र पर्यटन प्रवर्द्धन तथा बजार व्यवस्थापन समितिले बुढीतोला क्षेत्रको पर्यटन विकास र प्रवर्द्धनका लागि आवश्यक बजेट तथा योजनालाई प्राथमिकतामा राख्न सुदूरपश्चिम प्रदेश सरकारसँग आग्रह गरेको छ ।
समितिले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई पत्राचार गर्दै बुढीतोला क्षेत्रलाई प्राकृतिक, धार्मिक तथा पर्यटकीय सम्भावनायुक्त गन्तव्यका रूपमा विकास गर्न विशेष ध्यान दिन अनुरोध गरेको हो । पत्रमा बुढीतोला पर्यटन महोत्सव २०८३ को समापन कार्यक्रममा प्रदेश सरकारका प्रतिनिधिको उपस्थितिप्रति धन्यवाद व्यक्त गर्दै क्षेत्रको दिगो पर्यटन विकासका लागि विभिन्न योजनाहरू अघि सारिएको उल्लेख छ ।
समितिले बुढीतोलालाई हरियाली तथा आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सडक दायाँबायाँ फूल रोपण तथा वृक्षारोपण कार्यक्रम सञ्चालनका लागि करिब ५० लाख रुपैयाँ बजेट विनियोजन गर्न माग गरेको छ । त्यसैगरी, साहसिक पर्यटन प्रवर्द्धनका लागि बन्जी जम्प सञ्चालनको सम्भाव्यता अध्ययन तत्काल सुरु गर्नुपर्ने, सामुदायिक वनभित्र पर्यापर्यटन कार्यक्रम तथा चिसापानी पिकनिक पार्कको स्तरोन्नतिका लागि आवश्यक बजेट र प्राविधिक सहयोग उपलब्ध गराउनुपर्ने माग गरिएको छ ।
समितिले बुढीतोला क्षेत्रलाई सुदूरपश्चिम प्रदेशकै नमुना पर्यटकीय स्थल घोषणा गरी सहस्रधारासम्म पहुँच मार्ग निर्माण तथा सहस्रधाराबाट कम्पासे धुरा जोड्ने पदमार्ग निर्माण गर्न समेत आग्रह गरेको छ । यस्तै, प्रत्येक घरमा होमस्टे अवधारणा विस्तार गरी स्थानीय रोजगारी सिर्जना, संस्कृति संरक्षण तथा पर्यटन प्रवर्द्धनका लागि तालिम, अनुदान र प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्नुपर्ने माग पनि पत्रमा उल्लेख गरिएको छ ।
समितिका संयोजक हरिदत्त भट्टाईद्वारा हस्ताक्षरित पत्रमा बुढीतोला क्षेत्रको पर्यटन विकासले स्थानीय आर्थिक गतिविधि वृद्धि, रोजगारी सिर्जना तथा सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ ।