धनगढी, २५ वैशाख/ उद्योग वाणिज्य सङ्घ भजनीको अध्यक्षमा जयबहादुर बुढा निर्विरोध चयन भएका छन्। शनिबार सम्पन्न सङ्घको वार्षिक साधारणसभा तथा निर्वाचनबाट बुढा सर्वसम्मत रूपमा अध्यक्ष चयन भएका हुन्।
लामो समयदेखि भजनी क्षेत्रमा व्यापार व्यवसाय गर्दै आएका बुढाले यसअघि उद्योग वाणिज्य सङ्घ भजनीमा करिब ९ वर्ष सचिवको जिम्मेवारी सम्हालिसकेका छन्। पत्रकारिता र व्यापार व्यवसाय दुवै क्षेत्रमा सक्रिय बुढा व्यापारीहरूको हकहित तथा व्यवसायिक वातावरण सुधारका विषयमा निरन्तर क्रियाशील रहँदै आएका छन्।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा रामप्रसाद रेग्मी, सचिवमा जनकबहादुर विक, कोषाध्यक्षमा शान्ति ओझा तथा सहसचिवमा विनोद शाह सर्वसम्मत चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा निर्मला परियार, राजकुमार अग्रवाल, लालबहादुर चौधरी, उपेन्द्र केसी, नृप बोगटी र नरेन्द्र थापा चयन भएका छन्।
अध्यक्षमा निर्विरोध चयन भएपछि बुढाले उद्योग वाणिज्य सङ्घ भजनीलाई व्यवसायीहरूको हकहितका लागि प्रभावकारी रूपमा काम गर्ने संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले स्थानीय उद्योग, व्यापार तथा अर्थतन्त्रको सुदृढीकरणका लागि सहकार्य र समन्वयलाई प्राथमिकता दिने बताए।
“लगानीमैत्री वातावरण निर्माणका लागि पहल गर्नेछौं। स्थानीय उत्पादन र बजार प्रवर्द्धनमा सहजीकरण गर्दै युवाउद्यमशीलता र रोजगारी सिर्जनाका क्षेत्रमा सक्रिय रूपमा काम गर्नेछौं,” अध्यक्ष बुढाले भने। उद्योग वाणिज्य सङ्घ भजनीको आफ्नै पाँच कठ्ठा क्षेत्रफलमा भवनसमेत रहेको छ।