धनगढी, १६ वैशाख/सरकारले तोकेको न्यूनतम समर्थन मूल्यभन्दा बढीमा कैलालीमा गहुँ खरिद प्रक्रिया सुरु गरिएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, प्रादेशिक कार्यालय धनगढीले जिल्लाका दुई स्थानमा काटा स्थापना गरी खरिद सुरु गरेको हो। कैलालीको गेटास्थित मोहनपुर र टीकापुरमा गहुँ संकलन भइरहेको छ।
मन्त्रिपरिषद्को २०८२ चैत २९ गतेको निर्णयअनुसार गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३,९४५ रुपैयाँ तोकिएको थियो। तर, कम्पनीले किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतिक्विन्टल ४,२५० रुपैयाँमा गहुँ खरिद गरिरहेको कार्यालय प्रमुख दीपक थापाले जानकारी दिए।
उनका अनुसार जिल्लामा गहुँ खरिदको कुल कोटा १० हजार क्विन्टल निर्धारण गरिएको छ। प्रतिकिसानबाट अधिकतम ७० क्विन्टल र कृषिसम्बन्धी सहकारी संस्थाबाट बढीमा ५०० क्विन्टलसम्म गहुँ खरिद गरिने योजना छ। स्थानीय तहहरूले आवश्यक गोदाम उपलब्ध गराएमा जिल्लाका अन्य स्थानबाट समेत गहुँ खरिद विस्तार गरिने उनले बताए।
गहुँ बिक्री गर्न आउने किसानहरूले परिचय खुल्ने कागजात, वडाबाट प्रमाणित किसान सिफारिस वा प्रमाणित प्रतिलिपि, साथै स्वघोषणापत्र अनिवार्य रूपमा ल्याउनुपर्नेछ। खरिद गरिएको गहुँको भुक्तानी बैंक खातामार्फत अनलाइन प्रणालीबाट गरिने कम्पनीले जनाएको छ।
गत वर्ष कम्पनीले ५ हजार क्विन्टल गहुँ खरिद गर्ने लक्ष्य राखेको भए पनि जम्मा ५२.५ क्विन्टल मात्र खरिद भएको थियो। यस वर्ष भने लक्ष्यअनुसार खरिद बढ्ने अपेक्षा गरिएको छ।