धनगढी, २८ चैत/सशस्त्र प्रहरीले कैलाली र कञ्चनपुरका सीमा क्षेत्रमा जनशक्ति थप गरेको छ । सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरीका गुल्म तथा बीओपीलाई सुरक्षार्थ मद्दत गर्न एवंम् उनीहरुमाथि निगरानी समेत गर्नेगरि जनशक्ति थपिएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय, अत्तरिया कैलालीका निमित्त बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिगविजय सुवेदीले सीमा क्षेत्रको सुरक्षा व्यवस्था प्रभावकारी बनाउन दुवै जिल्लामा जनशक्ति थपिएको बताए।उनकाअनुसार दुवै जिल्लामा ९०/९० जनाका हिसाबले थप १८० जना सशस्त्र प्रहरी परिचालन गरिएका छन् । उनीहरुलाई ३०/३० जनाको समूहमा बाँडेर तीन वटा छुुट्टाछुुट्टै टोली तयार पारिएको एसएसपी सुवेदीले बताए ।
पहिलो ३० जनाको टोली दिनमा र दोस्रो टोली रातिको समयमा सीमा क्षेत्रमा खटिनेछ भने अर्को टोलीले थप मद्दतका ३० जनाको अर्को टोली दैनिक तयारी अवस्थामा राखिनेछ।कैलालीमा सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण हेटक्वाटर धनगढी र कञ्चनपुरमा नं ३५ गण हेटक्वाटर झलारीबाट टोली परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ।वैद्यनाथ बाहिनीका निमित्त बाहिनीपति एसएसपी सुवेदीले सीमा क्षेत्रमा रहेका सीमा सुरक्षा गुल्म, बीओपी तथा अन्य युनिटहरूको कामकारबाहीको अनुगमनलाई थप प्रभावकारी बनाउन, अवैध रुपमा हुने चोरी–तस्करी नियन्त्रण गर्न र समग्र सीमा सुरक्षालाई मजबुत बनाउन अतिरिक्त जनशक्ति खटाइएको बताए ।उनकाअनुसार सीमा क्षेत्रको अनुगमनका क्रममा सम्भावित विपद् जोखिमयुक्त स्थानहरूको अध्ययन तथा विश्लेषण समेत गरिनेछ।
गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षणका क्रममा सीमा क्षेत्रमा थप जनशक्ति परिचालन गरी प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका थिए।सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पनि कैलालीका सीमा क्षेत्रको स्थलगत अवलोकन गर्दै कडाइका साथ नतिजामुखी कार्य गर्न मातहतलाई निर्देशन दिएका थिए ।
