धनगढी, ९ चैत / नेपाली कांग्रेस कैलाली जिल्ला कार्यसमितिले प्रतिनिधिसभा निर्वाचन–२०८२ अन्तर्गत क्षेत्र नम्बर ५ मा देखिएको विवादबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। जिल्ला कार्यसमितिले जारी गरेको प्रेस विज्ञप्तिमा फागुन २१ गते सम्पन्न निर्वाचनपछि काँग्रेसका केही नेता तथा कार्यकर्ताले नेपाली कम्युनिस्ट पार्टी का उम्मेदवार प्रेम आलेसँग आर्थिक लेनदेन गरेको भन्ने आरोप सार्वजनिक भएको उल्लेख गरिएको छ।
विज्ञप्तिअनुसार काँग्रेस कैलालीले फागुन ११ गते नै पार्टीका उम्मेदवारलाई विजय गराउन र मत वृद्धि गर्न निर्देशन दिएको थियो। साथै, चैत १ गते निर्वाचन परिणाम सार्वजनिक भएपछि क्षेत्रीय कार्यसमिति र उम्मेदवारलाई पराजयका कारण, अनुभव, सुझाव तथा आगामी रणनीति समेटिएको प्रतिवेदन जिल्ला कार्यसमितिमा पेश गर्न निर्देशन समेत दिइएको थियो।
तर त्यसबीचमा क्षेत्र नम्बर ५ का उम्मेदवार नरनारायण शाह (मनु) ले धनगढीबाट सञ्चालित सञ्चारमाध्यममा दिएको अन्तर्वार्तामा काँग्रेसका ५७ जना नेता–कार्यकर्ताले आर्थिक लेनदेन गरी मत प्रभावित बनाएको अभिव्यक्ति दिएको भन्दै जिल्ला कार्यसमितिले उक्त विषयलाई गम्भीर रूपमा लिएको जनाएको छ।
काँग्रेस कैलालीले सार्वजनिक आरोपबारे स्पष्ट पार्दै जिम्मेवारी निर्वाह गर्न सम्बन्धित पक्षसँग आग्रह गरेको छ। साथै पार्टीभित्रको अनुशासन र छवि जोगाउन यस्ता विषयमा सत्यतथ्य छानबिन आवश्यक रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।
