धनगढी /चलचित्र पत्रकार संघ नेपाल कैलालीको दोस्रो जिल्ला अधिवेशन आज धनगढीमा सुरू भएको छ। संघका कैलाली अध्यक्ष पुष्पराज जोशीको अध्यक्षतामा आयोजित कार्यक्रममा चलचित्र पत्रकार महासंघ नेपालका केन्द्रीय अध्यक्ष समिर बलामी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
कार्यक्रमको सञ्चालन कृत विष्टले गरेका थिए भने स्वागत मन्तव्य संघका उपाध्यक्ष विवेक नागरीले व्यक्त गरेका थिए। अधिवेशनमा पत्रकारिता तथा कला–संस्कृतिसँग सम्बन्धित विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै चलचित्र पत्रकार महासंघ नेपालका केन्द्रीय अध्यक्ष समिर बलामीले नेपालमा चलचित्र पत्रकारिताको इतिहास लामो भए पनि जिल्लास्तरमा विधागत पत्रकारिता गर्न अझै चुनौतीपूर्ण अवस्था रहेको बताए। उनले पत्रकारहरूले एउटै क्षेत्र मात्र नभई समग्र क्षेत्रका विषयवस्तु समेटेर समाचार लेख्नुपर्ने अवस्था रहेको उल्लेख गरे।
उनले भने, “यो विधा मात्र त्यो विधा भनेर छुट्याउने अवस्था छैन। पत्रकारहरूले समग्र क्षेत्रमा लेखेर पत्रकारितालाई अझ बलियो बनाउनुपर्छ।” उनले जहाँ चलचित्र, कला, साहित्य, रंगमञ्च लगायतका गतिविधि भइरहेका छन्, त्यस्ता स्थानमा संघलाई विस्तार गर्दै लैजाने योजना रहेको पनि बताए। साथै उनले संघ संख्यामा भन्दा गुणस्तरमा विश्वास गर्ने संस्थाका रूपमा अघि बढिरहेको धारणा व्यक्त गरे।
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका महासचिव शिवराज भट्टले पछिल्लो समय रंग पत्रकारितामा कलम कम चलिरहेको बताए। उनले पत्रपत्रिकामा चलचित्र क्षेत्रका समाचार कम प्रकाशित भइरहेको भन्दै यस विधा किन पछाडि परेको छ भन्ने विषयमा गम्भीर समीक्षा गर्न आवश्यक रहेको बताए।
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मिन बमले सुदूरपश्चिम क्षेत्रलाई नेपाली चलचित्रको उद्गमस्थलका रूपमा उल्लेख गर्दै यहाँ धेरै प्रतिभा लुकेर बसेको बताए। उनले ती प्रतिभालाई खोजेर उजागर गर्नुपर्ने आवश्यकता औँल्याए।
नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवाले पत्रकार महासंघ सबै क्षेत्र र सबै विधालाई समेट्ने साझा संस्था भएको बताए। उनले सुदूरपश्चिम प्रदेशमा अहिले जम्मा दुईवटा मात्र फिल्म हल सञ्चालनमा रहेको जानकारी दिँदै विगतमा सञ्चालनमा रहेका धेरै हलहरू बन्द अवस्थामा पुगेको बताए। चलचित्र क्षेत्र आफैँमा रंग पत्रकारितासँग जोडिएको महत्वपूर्ण क्षेत्र भएकाले यसतर्फ ध्यान दिन आवश्यक रहेको उनको भनाइ थियो।
अधिवेशनको अवसरमा विभिन्न व्यक्तित्वहरूले समेत मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा साहित्यकार हेमन्त विवस, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य जमुना न्यौरे, नेपाल पत्रकार महासंघ कैलालीका पूर्व अध्यक्ष हिमाल जोशी, सुदूरपश्चिम कला प्रतिष्ठानका महासचिव गुणाकर पनेरू, नेपाल प्रेस युनियन कैलालीका अध्यक्ष सिताराम ओझा तथा प्रेस चौतारी कैलालीका अध्यक्ष जनक विष्टले चलचित्र पत्रकारिताको विकास, कला–संस्कृति प्रवर्द्धन तथा सुदूरपश्चिम क्षेत्रका प्रतिभालाई प्रोत्साहन गर्न आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।
कार्यक्रमका अवसरमा एसके सिनेमा हलका सञ्चालक सुवास सुनारलाई सम्मान गरिएको थियो। उनलाई प्रमाणपत्रसहित सम्मान गरिएको आयोजकले जनाएको छ।
चलचित्र पत्रकार संघ नेपाल कैलालीको दोस्रो जिल्ला अधिवेशनले आगामी कार्ययोजना, संगठन विस्तार तथा चलचित्र पत्रकारिताको प्रवर्द्धनका विषयमा विभिन्न छलफल र निर्णय गर्ने अपेक्षा गरिएको छ।