धनगढी, २९ माघ/सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय सीमा सुरक्षा विभागका प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालले कैलालीको त्रिनगर नाका र कञ्चनपुरको गड्डाचौकी निरिक्षण गरेका छन् ।
फागुन २१ गते हुने निर्वाचनमा सिमा क्षेत्रबाट घुसपैठ तथा दुईदेशीय सिमा अपराध र शान्ति सुरक्षाको अबस्थाका बारेमा अनुगमन गरेका थिए । निरिक्षणका क्रममा एआईजी दाहालले सीमा सुरक्षा र राजस्व चुहावट नियन्त्रणमा खटिएका सशस्त्र प्रहरी कर्मचारीलाई कडा रुपमा अनुसान सहित काम गर्न निर्देशन दिएका छन् । उनले सरोकारवाला निकायसँग निरन्तर समन्वय, सूचना प्राप्ति तथा विश्लेषण र सोहीअनुसारको सुरक्षा व्यवस्थापनमा जोड दिन पनि निर्देशन दिए ।
उनले कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीसँग छलफल गर्दै आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुरक्षाका लागि हालेमालो गरेर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । यसका लागि पूर्ण प्रत्याभूति हुनेगरी कार्य गर्न उच्चस्तरीय समन्वय आवश्यक रहेको बताए । उनले निर्वाचन अवधिभर उच्च सर्तकता अपनाउन, सूचना सङ्कलन तथा विश्लेषणलाई प्रभावकारी बनाउन आफ्ना मातहतका सुरक्षाअधिकारीहरुलाई निर्देशन दिएका छन् । निर्वाचन सुरक्षा संवेदनशील विषय भएकाले जिम्मेवारी वहन गर्न समेत बताएका छन् ।
छलफलमा कैलालीका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मी र कञ्चनपुरका मदन कोइरालाले निर्वाचन सुरक्षाको तयारीबारे एआईजी दाहालसँग छलफल गरेका थिए । स्थलगत अनुगमनका क्रममा कैलाली र कञ्चनपुरका इकाइ प्रमुखलाई निर्देशन दिँदै सशस्त्र प्रहरी बल नेपाल वैधनाथ बाहिनी मुख्यालय अत्तरियाका निमित्त बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिगविजय सुवेदीले निर्वाचन सुरक्षा, सीमा सुरक्षा र राजस्व चुहावट नियन्त्रणमा कडाइका साथ कार्य गर्न निर्देशन दिएका छन् ।
उनले निर्वाचन सुरक्षामा समन्वयात्मक रूपमा कार्य गर्न र राजस्व चुहावट नियन्त्रणमा सक्रिय भई चोरी तस्करी नियन्त्रणको कार्यमा शून्य सहनशीलता अपनाउन पनि निर्देशन दिए । स्थलगत निरीक्षणमा कैलालीका गणपति खुम केसी र र कञ्चनपुरका गणपति प्रेम सिग्देल पनि सहभागि रहेका थिए ।