धनगढी, ९ माघ / फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै प्रचार–प्रसार तथा निर्वाचन गतिविधिलाई तीव्र पार्न कैलाली क्षेत्र नम्बर ५ बाट नेपाली काँग्रेसका उम्मेदवार नरनारायण शाह (मनु) ले औपचारिक रूपमा सचिवालय सञ्चालनमा ल्याएका छन् । निर्वाचन अभियानलाई व्यवस्थित, प्रभावकारी र जनमुखी बनाउने उद्देश्यले पार्टी कार्यालयमै सम्पर्क कार्यालय स्थापना गरिएको हो ।
शुक्रबार आयोजित उद्घाटन कार्यक्रममा हिन्दु परम्पराअनुसार पूजा–पाठ गरिएको थियो । सोही अवसरमा नेपाली काँग्रेसका संस्थापक नेता विपी कोइरालाको तस्बिरमा माल्यार्पण गरिएको थियो भने ब्यानर उद्घाटन तथा रिबन काटेर सम्पर्क कार्यालयको औपचारिक शुभारम्भ गरिएको हो । कार्यक्रममा नेपाली काँग्रेसका स्थानीय नेता, कार्यकर्ता, शुभेच्छुक र सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।
सचिवालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार नरनारायण शाह (मनु) ले निर्वाचन आचारसंहिता पालना गर्दै सभ्य, अनुशासित र जिम्मेवार ढंगले प्रचार–प्रसार गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे । उनले निर्वाचन लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण पक्ष भएको उल्लेख गर्दै कुनै पनि अमर्यादित, अनुचित वा आचारसंहिताविपरीत गतिविधि नगर्न सबैलाई सचेत गराए । ‘हामी जनताको विश्वास जित्न सभ्य र सकारात्मक राजनीतिक संस्कारसहित मैदानमा उत्रिनुपर्छ,’ उनले भने ।
शाहले पार्टीका लागि आफूले विगतदेखि निरन्तर रूपमा दिएको योगदानको कदर गरिदिन पार्टी नेतृत्व तथा मतदातासँग आग्रह गरे । उनले संगठन निर्माण, जनसम्पर्क र राजनीतिक संघर्षमा आफ्नो भूमिका उल्लेख गर्दै जनताले सही मूल्यांकन गर्ने विश्वास व्यक्त गरे । ‘अहिलेसम्मको राजनीतिक माहोल हेर्दा जनताको समर्थन मेरो पक्षमा देखिन्छ,’ उनले भने, ‘जनताको यो विश्वासलाई आगामी दिनमा इमानदार राजनीति र विकासमुखी काममार्फत पूरा गर्नेछु ।’
कार्यक्रममा उपस्थित स्थानीय नेता तथा कार्यकर्ताहरूले उम्मेदवार शाहको नेतृत्वमा एकजुट भएर निर्वाचन अभियान अघि बढाउने प्रतिबद्धता जनाए । उनीहरूले घरदैलो कार्यक्रम, टोलस्तरीय भेटघाट, युवा तथा महिला लक्षित अभियान, सामाजिक सञ्जालमार्फत प्रचार–प्रसार लगायतका गतिविधिलाई थप सशक्त बनाइने बताए ।
सचिवालयमार्फत निर्वाचनसम्बन्धी सम्पूर्ण गतिविधिको समन्वय गरिने जनाइएको छ । साथै, यो सम्पर्क कार्यालयलाई मतदातासँग प्रत्यक्ष संवाद गर्ने, जनताको गुनासो, सुझाव र अपेक्षा संकलन गर्ने केन्द्रका रूपमा विकास गरिने बताइएको छ । उम्मेदवार पक्षका अनुसार सचिवालयले पार्टी संगठन र मतदाताबीच सेतुको भूमिका खेल्नेछ ।
कैलाली क्षेत्र नम्बर ५ मा निर्वाचन प्रतिस्पर्धा क्रमशः कडा बन्दै गएको अवस्थामा नेपाली काँग्रेसले संगठन सुदृढीकरण र जनआधार विस्तारलाई प्राथमिकतामा राखेको देखिन्छ । सचिवालय सञ्चालनसँगै निर्वाचन अभियानले थप गति लिने र मतदातासँगको सम्बन्ध अझ मजबुत हुने अपेक्षा गरिएको छ ।