धनगढी, ४ माघ / धनगढी उपमहानगरपालिकाको आयोजनामा १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०८२आजदेखि सुरु भएको छ। “स्वास्थ्यका लागि खेलकुद, नगरका लागि खेलकुद” भन्ने नारासहित सुरु भएको प्रतियोगितामा २६ सामुदायिक र २० संस्थागत विद्यालय सहभागी रहेका छन्।
माघ ४ गतेदेखि सुरु भएको प्रतियोगिता माघ ८ गतेसम्म सञ्चालन हुनेछ। धनगढी रङ्गशालामा आयोजित उद्घाटन समारोहमा बोल्दै उपमहानगरपालिकाका मेयर गोपाल हमालले खेलकुद जित-हारमा मात्र सीमित नभई स्वास्थ्य र जीवनशैलीसँग जोडिनुपर्ने बताए।
मेयर हमालले भने, “खेलकुद जित्नका लागि मात्रै होइन, स्वस्थ जीवनका लागि खेल्नुपर्छ। खेलकुद सधैँको लागि हुनुपर्छ।” उनले आगामी दिनमा खेलकुद मैदान निर्माणमा उपमहानगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्दै स्थान सुनिश्चित गर्न सबै विद्यालय र विद्यार्थीलाई सचेत रहन आग्रह गरे। “खेलकुद विद्यार्थीका लागि मात्रै होइन, सबैका लागि आवश्यक छ,” उनको भनाइ थियो।
उद्घाटन समारोहमा उपमेयर कन्दकला रानाले पनि खेल र खेलाडीको दीर्घकालीन विकासका लागि उपमहानगरपालिका सधैँ साथमा रहेको बताइन्। उनले खेलकुदले अनुशासन, नेतृत्व र सकारात्मक सोच विकास गर्ने उल्लेख गर्दै विद्यार्थीलाई खेलमा सक्रिय सहभागिता जनाउन आग्रह गरिन्।
प्रतियोगिताअन्तर्गत विभिन्न एथलेटिक्स, सामूहिक तथा व्यक्तिगत खेलहरू समावेश गरिएका छन्।
उद्घाटन समारोहमा उपमहानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, विद्यालयका शिक्षक विद्यार्थी लगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो।