धनगढी २ माघ/डोटीको दिपायल सिलगढी नगरपालिका–४ स्थित केआईसिंह राजमार्ग अन्तर्गत पर्ने पिपल्ला बजारदेखि कुलपाते सम्मको सडक खण्डमा सवारी आवागमन पूर्णरूपमा बन्द गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय डोटीले सडक डिभिजन कार्यालय कुलपाते र डोटी सडक सुधार तथा सडक चौडा गर्ने कार्य भइरहेकोले निर्माण कार्य सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गर्न सवारी आवागमन रोक्नुपर्ने जनाएको छ। सो निर्णय जिल्ला सुरक्षा समितिको बैठक तथा सुरक्षा निकायसहित जिल्ला स्तरीय यातायात व्यवसायी, पत्रकारलगायत सरोकारवाला पक्षसँग भएको छलफलबाट गरिएको हो।
जिल्ला प्रशासन कार्यालयका अनुसार माघ १० गतेदेखि माघ १२ गतेसम्म उक्त सडक खण्डमा सवारी आवागमन पूर्णरूपमा बन्द रहनेछ। यस अवधिमा हरेक दिन बिहान ५ बजेदेखि ८ बजेसम्म र बेलुका ६ः३० बजेदेखि ९ बजेसम्म सवारी साधन सञ्चालन गर्न निषेध गरिएको छ।
निर्माण कार्यका कारण यात्रु तथा सडक प्रयोगकर्तालाई पर्न जाने असुविधाप्रति कार्यालयले क्षमायाचना गर्दै वैकल्पिक मार्ग प्रयोग गर्न तथा तोकिएको समय र मितिमा यात्रा नगर्न सबैमा आग्रह गरेको छ।