शेरबहादुर देउवा जीवित रहुन्जेल देउवाविनाको कांग्रेस र देउवा–कांग्रेसविनाको देशको कल्पना गर्नु राजनीतिक अपरिपक्वता मात्र होइन, इतिहास, संघर्ष र वर्तमान यथार्थप्रतिको गहिरो अज्ञानता पनि हो।
कांग्रेस कुनै व्यक्तिको निजी सम्पत्ति होइन भन्ने कुरा निर्विवाद छ। तर त्यत्तिकै निर्विवाद सत्य यो पनि हो कि पार्टीको निरन्तरता, स्थायित्व र सन्तुलनमा देउवाको भूमिका अस्वीकार गर्न सकिँदैन। चार दशकभन्दा बढी जेल, आन्दोलन, राजनीतिक संकट र जिम्मेवारीको भारी बोकेर पार्टी र देशलाई निर्णायक मोडमा नेतृत्व गरेका व्यक्तिलाई आज ‘बोझ’ को रूपमा चित्रण गर्नु राजनीतिक कृतघ्नताको चरम उदाहरण हो।
देउवाविनाको कांग्रेसको सपना देख्नेहरूले पहिले देउवाजस्तै कठिन परिस्थितिमा पार्टी जोगाएर देखाउनुपर्छ। देउवा र कांग्रेसविनाको देश कल्पना गर्नेहरूले पहिले कांग्रेसले जस्तै लोकतन्त्रको रक्षा गरेर प्रमाणित गर्नुपर्छ। देउवा कुनै आकस्मिक वा परिस्थितिजन्य उपज होइनन्उ-हाँ पार्टीको इतिहासले घोटिएको, समयले परीक्षित र संघर्षले खारिएको नेतृत्व हुनुहुन्छ।
उहाँलाई हटाउने अधिकार न नाराबाजीलाई छ, न सामाजिक सञ्जालको भीडलाई। त्यो अधिकार केवल पार्टी विधान, अधिवेशन र लोकतान्त्रिक मतदातासँग मात्र छ। जबसम्म देउवा छन्, कांग्रेस जीवित छ। जबसम्म कांग्रेस छ, लोकतन्त्र सुरक्षित छ। र लोकतन्त्र सुरक्षित छ भने देशको भविष्य पनि सुरक्षित छ। देउवाबाट डराउनेहरूले खोक्रो नारा होइन, खुला प्रतिस्पर्धाको साहस देखाउनुपर्छ। देउवा बिना कांग्रेसको कल्पना गर्ने होइन-देउवासँग प्रतिस्पर्धा गर्ने आत्मविश्वास देखाऔं।
लेखक : मनिष कुँवर (नेविसंघ कैलाली जिल्ला अध्यक्ष)
