धनगढी १० पुस/ श्रीमद् हरिहर चतुर्मास अनुष्ठान तथा शिवपुरी धर्मोत्सवको आय–व्यय विवरण सार्वजनिक गरिएको छ। धनगढीको शिबपुरी धाममा आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत आयोजन समितिले गत असार २२ गतेदेखि कार्तिक १९ गतेसम्म शिवपुरी धाममा सञ्चालन भएको चतुर्मास कार्यक्रममा भएको आय–व्यय सार्वजनिक गरेको हो।
समितिका अनुसार धार्मिक अनुष्ठानमा दर्शनार्थीको सहभागिता दान दक्षिणा र सहयोगमार्फत जम्मा भएको कुल आय ६८ लाख ५९ हजार ९७८ रुपैयाँ रहेको छ। त्यस्तै, कार्यक्रम सञ्चालन, व्यवस्थापन, पुजा–अनुष्ठान, पूर्वाधार र अन्य प्राविधिक खर्च गरी कुल ६८ लाख १७ हजार ३७ रुपैयाँ खर्च भएको आयोजक समितिका संयोजक सत्यराज अबस्थीले जानकारी दिएका छन् । चार महिनासम्म सञ्चालन भएको यस धर्मोत्सवको समापन ११ करोड दीप प्रज्वलन गरेर गरिएको थियो।
आर्थिक संयोजक शुभ ठाकुरले अनुष्ठानमा सहभागि सबैलाई धन्यवाद दिनुका साथै सफल पार्न लाग्ने सबैलाई धन्यवाद समेत व्यक्त गरेका थिए । कार्यक्रममा धनगढी वडा नम्बर ४का वडा अध्यक्ष बुद्धीसिह खड्का र नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउबा लगायतको सहभागिता रहेको थियो।