धनगढी, १२ मंसिर / पछिल्लो समयमा देशव्यापी रूपमा विभिन्न पार्टी हरूले आफ्ना सभा सम्मेलनहरूलाई तीव्रता दिएका छन्। केही दिन अगाडि नेकपा एमालेले देशव्यापी रूपमा सातै प्रदेशका मुख्य केन्द्रमा आमसभा सम्पन्न गरेको छ, भने हालै गठबन्धन भएको नेपाली कम्युनिस्ट पार्टीले पनि सोही कार्यक्रमलाई निरन्तरता दिएको छ।
पार्टीका आम सभा सम्मेलनमा ठूलो जनसागर उर्लेको देखिन्छ। हामी सबैलाई यही लागिरहेको छ। कति धेरै समर्थकहरू कार्यकर्ताहरू छन्, यी पार्टीहरूका तर वास्तविकता भने फरकै रहेको देखिन्छ। आज सुदूरपश्चिम प्रदेशको धनगढीमा हजारौंको संख्यामा पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव कुमार नेपाल र भीम रावल समर्थक जनताहरू नेपाली कम्युनिस्ट पार्टीले आयोजना गरेको आमसभामा सहभागी हुन आएका थिए।
त्यही हजारौँ संख्याका समर्थकहरूमा कोही रहरले त कोही बाध्यताले आएको पनि देखियो। ग्रामीण भेगबाट बसहरुमा ठेलमठेल गरेर ल्याएका अधिक जनता पार्टीको आमसभाबारे कुनै विज्ञता राखेर आएका थिएनन्, न रहरले नै आएका थिए। स्थानीय स्तरमा हुने नेता कार्यकर्ताको करकापसँगै समाजमा पर्ने आपसी सम्बन्धले गर्दा बाध्यात्मक परिस्थितिमा परेर आएकाहरु पनि अधिक थिए ।
प्रचण्ड, माधव र भीम रावलको सम्बोधन मञ्चमा, जनता घर जान हतारमा
आज आफूलाई सबैभन्दा शक्तिशाली र लोकप्रिय पार्टी देखाउनको लागि हजारौं सङ्ख्याको उपस्थितिमा नेपाली कम्युनिस्ट पार्टीले धनगढीमा गरेको आम सभामा देखिएको एक रोचक दृश्यले अधिक जनता रहरले भन्दा बाध्यताले नै आएको पुष्टि गरेको छ। मञ्चमा नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावल माधवकुमार नेपाल र प्रचण्डको सम्बोधन सुरु नै भएको थिएन। त्यहीबेला धेरैले घर जान हतार गर्दै कोही पसलबाट सामान किनिरहेका थिए भने, कोही लामबद्ध भएर आफ्नो गन्तव्यतिर हिँडिरहेका थिए।
सभामा आएका ती नागरिकलाई न नेताहरूले बोलेको कुनै शब्दहरूले छोएको थियो। न नेताहरूले बोलेका ती शब्दहरू कुनै नौला र यथार्थ झल्काउने जस्तो नै लागेका थिए। बरु सर्वसाधारणहरू बिहानदेखि यात्रा गरेर आएका हुनाले कोही भोकाएका थिए कोही टोलाएका थिए, त कोही घर जाने समय कुरिरहेका थिए।
मैले सोधे, अझै त प्रमुख नेताहरू बोलेकै छैनन्, तपाईँहरू अहिले जान लागेको ?
आफूहरूलाई कतिबेला जाउ भइसकेको छ, गाउँका नेताहरूको करकाप, समाजमा एक्लो हुन नपरोस भनेर र सामाजिक बहिष्कारबाट बच्नको लागि मात्रै यहाँ आएको नागरिकहरूले बताए। सँगै थपे बाध्यात्मक परिस्थितिमा गाउँबाट सबै पार्टीका कार्यक्रमहरूमा सहभागी भइरहेको समेत आमसभामा पुगेका ति सर्वसाधारणहरुले पिडा व्यक्त गरे ।