धनगढी, १४ कार्तिक / डोटीको बडीकेदार गाउँपालिकाले प्रसिद्ध धार्मिक स्थल बडीकेदार धाममा लाग्ने जात्रा र पूजाको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गाउँ कार्यपालिकाको मिति २०८२ साल कात्तिक १३ गते बसेको बैठकले कात्तिक १७ र १८ गतेका दिन गाउँपालिकाभित्रका सबै सरकारी तथा गैरसरकारी कार्यालय, वित्तीय संस्था र विद्यालयहरू बन्द रहने निर्णय गरेको हो।
गाउँपालिकाको कार्यालय खड्यौली, डोटीले जारी गरेको सूचनामा भनिएको छ, “बडीकेदार धामको वार्षिक जात्रा तथा पूजाको क्रममा मेला कात्तिक १७ गते राति र पूजन कार्यक्रम कात्तिक १८ गते हुने भएकाले सो अवसरमा दुई दिन सार्वजनिक विदा दिइएको छ।”
प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बुढाको हस्ताक्षरित सूचनामा उक्त सार्वजनिक विदाको जानकारी गरिएको छ।
बडीकेदार धाम डोटी जिल्लाको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक दृष्टिले महत्वपूर्ण स्थल हो, जहाँ हरेक वर्ष हजारौँ भक्तजन दर्शन र पूजाका लागि पुग्ने गर्छन्।
