काठमाडौँ — सरकारले कोरोना संक्रमितको उपचारमा खटिने निजी अस्पतालमा कार्यरत चिकित्सकलाई सरकारीमा आएर काम गरे सरकारी चिकित्सकसरह सेवा, सुविधा उपलब्ध गराउने निर्णय गरेको छ ।
सोमबारको मन्त्रिपरिषद् बैठकले निजी अस्पतालका चिकित्सक कोरोनासम्बन्धी उपचारमा संलग्न हुन सरकारीमा आए उनीहरुको तह र सेवासुविधा सरकारी चिकित्सक सरह सरकारले दिने निर्णय गरेको प्रवक्ता रहेका अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले जानकारी दिए। यस्तै निजी अस्पतालमै रहेर कोरोनाको उपचारमा संलग्न चिकित्सकहरुको भत्ता पनि सरकारले ब्यहोर्ने भएको छ ।
बैठकले कोरोनाको महामारीको लागि खटिने स्वास्थ्य स्वयंसेविकाहरुलाई सरकारले १५०० भत्ता उपलब्ध गराउने निर्णय पनि गरेको छ।
क्वारेन्टाइनमा बस्नुपर्नेहरु बसेरनबसेको र स्वास्थ्य सेवासम्बन्धी विषयमा नागरिकलाई उत्प्रेरित गरेबापत प्रतिव्यक्ति एक पटकका लागि १५०० रुपैयाँ प्रोत्साहनस्वरुप उपलब्ध गराउने निर्णय भएको मन्त्री खतिवडाले जानकारी दिएका छन्।
यसअघिको मन्त्रिपरिषद् बैठकले देशभर ५० हजारभन्दा बढी ग्रामीण स्वयम्सेविका परिचालन गर्ने निर्णय गरेको थियो ।
