धनगढी , सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचार गराईरहेका धनगढी उपमहानगरपालिका– ५ हसनपुरका कोरोना भाइरस संक्रमित युवकका परिवारका श्रीमती सहित ७ जना सदस्यको रिपोर्ट नेगिटिभ आएको छ ।
परिवारका ८ जना सदस्यको थ्रोट स्वाव संकलन गरिएकोमा उनकी ३४ वर्षीया भाउजुको रिपोर्ट पोजिटिभ आएको छ भने अन्य सात जनाको रिपोर्ट नेगेटिभ आएको सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा. जगदिश जोशीले बताए ।
संक्रमितकी श्रीमती, चार वर्षीया छोरीको रिपोर्ट पनि नेगेटिभ आएको छ । उनका बुवा,आमा, दाजु र भतिजीको रिपोर्ट पनि नेगेटिभ आएको डा. जोशीले बताए ।
त्यस्तै परीक्षणका लागि काठमाण्डौं पठाइएको उनका छिमेकी तथा नजिकका दुई जना नातेदारको थ्रोट स्वावको नमूनाको रिपोर्ट भने आएको छैन ।
उनी दुबईबटा ७ गते नेपाल आएका थिए । दिल्लीबाट काठमाण्डौं आउदा उनी चढेको जहाजमा १०८ जना नेपाली थिए । जसमध्ये धनगढीकै एक जना अर्का युवक पनि त्यसमा सवार थिए । दुबईबाट दिल्ली, दिल्लीबाट काठमाण्डौं आएका उनी ८ गते दिउसो १२ बजे बुद्ध एयरको जहाजबाट नेपालगञ्ज आएका थिए । बुद्ध एयरको जहाजमा दुई बच्चा सहित ७१ जना यात्रु थिए ।
नेपालगञ्जबाट अटोमा कोहलपुर र कोहलपुरबाट महेन्द्रनगर जाने हायसमा अत्तरीया आएका उनी त्यहाँबाट विंगर धनगढी चौराहा र चौराहाबाट अटोमा हसनपुरस्थित घर पुगेका थिए ।
घर पुगेको तीनदिनपछि ११ गते सेती प्रादेशिक अस्पताल भर्ना भएका उनको रिपोर्ट पोजिटिभ आएको थियो ।
हाल सेती प्रादेशिक अस्पतालका चार जना संक्रमितको उपचार भईरहेको छ ।
- पश्चिमटुडे बाट