धनगढी , १९ साउन / नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले सुदूरपश्चिम प्रदेशको क्रिकेट सङ्घ अन्य प्रदेशको दाजोमा कमजोर रहेको औल्याएका छन्। सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय स्तरमा क्रिकेट खेल्ने खेलाडी बढी भए तापनि प्रदेशको क्रिकेट सङ्घ भने पछाडि रहेको बताएका हुन्।
धनगढीमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पत्रकार सम्मेलन गर्दै देशव्यापी रूपमा क्रिकेटका गतिविधिबारे जानकारी गराएका थिए। पहिलो सिजनको एनपीएलको खर्च विवरण सार्वजनिक गर्न ढिलाई भएको देखि लिएर फाप्ला क्रिकेट मैदानको बारेमा समेत पत्रकार सम्मेलनमा जानकारी गराएका थिए। यसै सन्दर्भमा सुदूरपश्चिम क्रिकेट सङ्घको विवादको बारेमा जानकारी गराउँदा अध्यक्ष चन्दले सुदूरपश्चिमको क्रिकेट सङ्घ अन्तर विभाजित मात्रै भइरहेको र क्रिकेटको विकास गर्न केही पछाडि रहेको बताएका हुन्।
सुदूरपश्चिम प्रदेशको क्रिकेट सङ्घमा आन्तरिक विवाद रहेको छ। अध्यक्षको उपस्थिति बिना विगतमा दुईवटा बैठक समेत बसाएकोले सुदूरपश्चिम प्रदेशको क्रिकेट सङ्घमा विवाद रहेको छ भन्ने स्पष्ट हुन्छ। यसै विषयलाई लिएर क्यानका अध्यक्ष चन्दले केही समस्या रहेको र छिट्टै समाधान समेत गरिने बताएका छन्।
यता राष्ट्रिय गौरवको अन्तर्राष्ट्रिय फाप्ला क्रिकेट मैदानको बारेमा भने नेपाल क्रिकेट सङ्घलाई कुनै जानकारी नरहेको बताएका छन्। आफूहरूसँग कुनै छलफल अथवा अन्य कुनै विषयमा जानकारी नभएको सकभर क्यानलाई जानकारी गराएर सहकार्यका रूपमा अगाडि बढ्नुपर्थ्यो भन्ने अध्यक्ष चन्दको भनाइ रहेको थियो।
यस्तै सुदूरपश्चिमबाट राष्ट्रिय स्तरमा बढी खेलाडी सहभागी हुने कुरामा पनि चन्दले पत्रकार सम्मेलन मार्फत स्पष्ट पारे। कुनै पनि खेलाडीलाई आफूले भेगीयवाद गर्दै अगाडि नबढाएको समेत दाबी गरे। आफ्नै कला, कौशलले खेलाडीहरू राष्ट्रिय टिममा पर्छन् भने यसमा कसले के नै गर्न सक्छ र भन्दै अध्यक्ष चन्दले आफूहरुले पक्षपात रहित टिम निर्माण गरिरहेको बताए।
नेपाल क्रिकेट सङ्घ अब दोस्रो सिजनको एनपीएल लगायत अन्य गतिविधिको लागि तयारीमा रहेको क्यानका अध्यक्ष चन्दले पत्रकार सम्मेलन मार्फत जानकारी गराए ।
