कैलाली, १३ साउन / प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध साँधिएको भन्दै गराइरहेको हस्ताक्षर क्याम्पेनप्रति टिप्पणी गरेका छन्। मंगलबार कैलालीमा रानी जमरा कुलरिया सिँचाइ आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले रास्वपाले तीन करोडभन्दा बढी हस्ताक्षर पुर्याउने हो कि भनेर डर लागेको भन्दै कटाक्ष गरेका हुन्।
‘विभिन्न प्रकारका अपराध गर्यो अनि सरकारलाई गाली गर्यो। सरकार अदालत होइन, अदालतले थुन्छ कि छोड्छ सरकारको हातमा हुँदैन। ठगी गरेपछि अदालतले थुन्छ त हामी के गर्नु, गर्ने बेलामा नचाहिने काम गर्ने, अनि पछि लौ प्रतिशोध, केको प्रतिशोध कथाकथित हस्ताक्षर क्याम्पेन, मलाई डर लागेको छ, तीन करोडभन्दा माथि हस्ताक्षर क्याम्पेन गयो भने, म उहाँहरूलाई सचेत गराउन चाहन्छु, हस्ताक्षर क्याम्पेन बढ्दै जाँदा तीन करोडभन्दा माथि नपुगोस् है, त्यसभित्रै राख्नुहोला, दुई चार जनालाई सही गरायो, घरमा गएर दनादन,’ उनले भने।
उनले सभापति रवि लामिछानेको नाम नलिई आफूले उपप्रधानमन्त्री, गृहमन्त्री बनाएको बताए। राजनीतिमा पनि आफूले नै ल्याएको दाबी गरे।
‘मैले ल्याएको राजनीतिमा, केको प्रतिशोधरु के साँध्नु थियोरु असभ्य ढंगले बोलेको छ,’ उनले भने। उनले नयाँ दलहरू अर्काले लडेर, निर्वासनमा बसेर, जेलनेल भोगेर, पिटाइ–यातना, क्षति, बलिदान सहेर ल्याएको लोकतन्त्रमा तर मारेको टिप्पणी गरे।
‘स्ट्याटस लेख्न पाए भयो, एकछिन बुरुक्क उफ्रिएर गाली गर्न पाए भयो, हाम्रो सभ्यता, सामाजिक सभ्यता, सामाजिक मर्यादा, सामाजिक संस्कृति, यसमाथि ख्याल नगरेर, यसमाथि धावा बोल्न पाए भयो, झूट र भ्रम फिँजाउन पाए भयो, हामी त्यस्ता कुरामा ध्यान दिँदैनौं उनले भने।’