धनगढी ३० असार / कैलाली जिल्ला कारागारमा प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल लगायतको टोलीले १० बजे राति निगरानी गरेका छन्। विगत केही दिनदेखि कैलाली कारागारमा कैदीबन्दी आक्रोशित हुँदै होहल्ला गर्ने, नारा जुलुस गर्नाले कारागारमा असहज परिस्थिति उत्पन्न भइरहेको छ।
केही दिन अगाडि कैलाली कारागारभित्र प्रमुख जिल्ला अधिकारीको टोलीले निगरानी गर्दा कैदीबन्दीहरूसँग मोबाइल भेटेका थिए। लगत्तै केही दिनपछि दुई समूहको झगडा हुँदा घाइते भएर सेती प्रादेशिक अस्पतालमा पुगेका थिए।
स्रोतका अनुसार जिल्ला प्रमुख अधिकारी , जिल्ला प्रहरी कार्यालय प्रमुख र कारागार प्रमुख लगायतको टोलीले केही दिनदेखि राति राति दलबल सहित कारागार निगरानी गर्ने गरेको जानकारी आएको छ।
कारागार प्रमुख बसन्त बहादुर खत्रीले आफ्नो मन मनोमानी गर्दै कैदीहरूलाई कारागार सरुवा गर्न खोज्दा कारागारमा कैदीबन्दीहरू बीच कहिले आपसमा झगडा त कहिले नारा जुलुस नै गर्नुपर्ने अवस्था सिर्जना भएको स्रोतले बताएको छ।
आज मात्रै कैदीबन्दीहरूको होहल्लापछि कैलाली जिल्ला कारागार बाहिर महेन्द्रनगर र नेपालगञ्जको लागि बुकिङ भएर बस पुगेको जानकारीमा आएको छ।
आधिकारिक जानकारी भने आउन बाँकी रहेको छ।